१० वर्षपछि रोजगारीका लागि विदेसिनु पर्दैनः मन्त्री जोशी

सुर्खेत, ४ माघ । उद्योगमन्त्री नविन्द्रराज जोशीले अबको १० वर्षपछि नेपालका कुनै पनि युवाहरू रोजगारीका लागि विदेश जानुनपर्ने दाबी गरेका छन् । हाल उद्योग मन्त्रालयले अघि सारेका महत्वकांक्षी योजनाहरू कार्यान्वयन हुन सके कोही पनि विदेशिनु नपर्ने उनले दाबी गरे ।

वीरेन्द्रनगरमा बहुमुल्य रत्नपत्थर कार्यशाला भवन उद्घाटन गर्न सुर्खेत आइपुगेका मन्त्री जोशीले ६ नम्बर प्रदेश सम्भावनाको खानी भएको बताए । उनले वीरेन्द्रनगरमा औद्योगिक ग्राम स्थापना गर्नका लागि आवश्यक अध्ययन भइरहेको बताएका छन् ।

व्यवस्थापकीय कमजोरीका कारण लामो समयदेखि बन्द रहेको नेपाल औषधि लिमिटेड सरकारले फेरि सञ्चालनमा ल्याएको उदाहरण दिँदै उनले उद्योगहरूको स्थापना गरेर समग्र नेपालीहरूकै आर्थिक स्तरमाथि उठाउने प्रयास भइरहेकोसमेत बताए । उनले सार्वजनिक निजी साझेदारी गरेर भए पनि बन्द अवस्थामा रहेका उद्योगहरूलाई सञ्चालनमा ल्याउने बताए । उद्योगमन्त्री जोशीले प्रत्येक घरमा उद्यमशीलताको विकास गर्न सके मात्रै मुलुकलाई आर्थिकरुपमा सम्मृद्ध बनाउन सकिने बताएका थिए । औद्योगिक क्रान्तिविना आर्थिक क्रान्ति असम्भव भएको उनको भनाइ थियो ।

उद्योग वाणिज्य संघको ११ बुँदे मागपत्र उद्योगमन्त्री नविन्द्रराज जोशीलाई सुर्खेत उद्योग वाणिज्यले बुझाएको छ । सोमबार मन्त्री जोशीलाई स्वागत तथा सम्मान गर्दै संघका अध्यक्ष प्रकाश अधिकारीले ११ बुँदे मागपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा पश्चिम सुर्खेतको लखरपाटा र चौकुने सिमेन्ट कारखाना सञ्चालनका लागि सरकारका तर्फबाट गर्नुपर्ने आवश्यक कार्य यथाशीघ्र सुरु गर्नुपर्ने तथा सुर्खेतका ३ ठाउँमा प्रस्तावित च्याम्बर मोडेल भिलेजका लागि आवश्यक सहयोग तथा लघु उद्यम विकास ग्राम स्थापना गर्नुपर्ने माग उल्लेख छ । हाल सुर्खेतमा निर्माणाधीन जडीबुटी संकलन तथा व्यवसाय केन्द्रसँगै जडीबुटी प्रशोधन केन्द्र स्थापनाका लागि आवश्यक सहयोग गर्नुपर्ने मागसमेत ज्ञापनपत्रमा समावेश गरिएको छ ।

प्रतिक्रिया