नेपालको थारू समुदायले यस पर्वलाई माघी भनेर मनाउने गर्दछन् र नयाँ वर्षको रूपमा मनाउने गरेको पाइन्छ । नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने छेत्री, बाहुन, राई, लिम्बु, नेवार, गुरुङ, मगर आदि सबै जनजातीले माघे संक्रान्तिलाई आआफ्ना परम्परा, भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गरेको पाइन्छ ।
माघीलाई थारूहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ । यो पर्व माघी पर्वका रूपमा बडो उत्साहका साथ मनाइन्छ। यस समुदायमा मासको दाल र चामल मिसाइएको खिचडी (माघी) खाने चलन छ ।
माघे संक्रान्तिको अघिल्लो दिन अर्थात् पुसको अन्तिम दिन घर घरमा सुँगुर काट्ने चलन छ, जसलाई ‘जिता मरना दिन’ भनिन्छ । पुस मसान्तमा घरघरमा सुँगुरको मासु, ढिकरी (पिठोको एक परिकार), माछालगायतको परिकार बनाएर जाँड–रक्सीको साथ खानपिन गरेर रातभर नाचगानका साथ रमाइलो गर्ने प्रचलन छ ।
यतिबेला ‘सखियै हो, माघीक पिली गुरी जाँर’ भन्ने गीत सबैको मुखमा झुण्डिएको हुन्छ । माघीमा गाइने गीतलाई ‘धमार’ भनिन्छ । माघीमा नाचिने विशेष मघौटा नाच अघिपछि पनि लोकप्रिय छ । माघे संक्रान्तिको दिन बिहान सबै जना नजीकैको खोलानालामा नुहाउन जाने चलन छ ।
यसलाई ‘माघ लहान’ भन्ने गरिन्छ । नुहाइसकेपछि घरमा आई दाल, चामल, नून छोएर आफूभन्दा ठूलालाई ढोग गरी आशीर्वाद लिइन्छ । माघको दोस्रो दिन खिचडी बनाई खाने चलन रहेको छ । यो दिनलाई ‘खिचरहवा’ भनिन्छ ।
प्रत्येक वर्षको माघ १ गते मनाइने यो पर्वमा गएका वर्षभरिमा गरिएका कामको समीक्षा गरिनुका साथै आगामी वर्षभरि गरिने कामको विषयमा छलफल र बाँडफाँड गर्ने गरिन्छ ।
आजको दिन विभिन्न किसिमका परिकार बनाई आफ्ना दिदीबहिनीलाई निश्राउ अर्थात् कोसेली दिने चलन रहेको छ । कोसेलीमा चामल, नुन, दाल, ढिक्री, अनदीको भात, माछा, मासु, लत्ताकपडालगायतका सामान रहेको हुन्छ ।
विवाह भएर गएका दिदीबहिनीलाई घरमा बोलाउने घरमा आउन नसकेको अवस्थामा बहिनीकै घरमा गएर सो कोसेली सँगसँगै आफूले सक्ने जति दक्षिणा दिने गरिन्छ । साथै यो पर्वको अवसरमा गाउँमा नयाँ अगुवा अर्थात् वडघर चुन्नेसमेत गरिन्छ ।
प्रतिक्रिया