कालिकोट, २ माघ । ३१ वर्षअघि निर्माण थालिएको कोटबाडा विमानस्थल अझै बन्न सकेको छैन । दलहरुले यसलाई चुनावी नारा बनाउने तर, केन्द्रमा पुगेपछि उचित चासो नदिने गरेकाले विमानस्थल नराम्ररी थला परेको हो ।
कर्णालीका पाँच जिल्ला (कालिकोट, हुम्ला, जुम्ला, मुगु र डोल्पा) वासीका लागि पायक पर्ने यो विमानस्थल राजनीतिक खिचातानी र सरकारी बेवास्ताको शिकार बन्दा विमान चढ्ने यस क्षेत्रका बासिन्दाको सपना सपनामा नै सीमित बनेको छ ।
विमानस्थल निर्माण थालिएको तीन दशक नाघ्दा कति खर्च भयो भन्ने कहीँ कतै कुनै लेखाजोखा छैन । कहिले ठेकेदार, कहिले उपभोक्ता समिति त कहिले मन्त्रालय आफैँले काम गरेकाले कति खर्च भयो कुनै लेखाजोखा नरहेको जिल्ला प्राविधिक कार्यालय कालिकोटका इञ्जिनियर चक्रबहादुर शाहीले बताए । ‘कहिले ठेक्कामार्फत् कहिले उपभोक्ता समितिमार्फत् काम भयो, ‘उनी भन्छन्, ‘अहिलेसम्म खर्च कति भयो अत्तोपत्तो छैन ।’ काम सुरु गर्दा दैनिक ३ रुपैयाँ पाउने मजदुरको ज्याला हजार पुग्यो, कोटबाडा विमानस्थल निर्माण कार्य कुन गतिमा अघि बढिरहेको छ भन्ने कुरा थाहा पाउन त्यहाँ कार्यरत कामदारको ज्यालालाई उदाहरणको रुपमा लिन सकिन्छ ।
जिविसका पूर्वसदस्य कटकबहादुर विष्टका अनुसार वि.सं. २०४२ सालमा निर्माण कार्य सुरु हुँदा त्यहाँ काम गर्ने मजदुरको दैनिक ज्याला ३ रुपैयाँ थियो । अहिले यो बढेर १ हजार पुगिसकेको छ, तर काम अझै सम्पन्न भएको छैन । ‘विमानस्थलको काम सुरु गर्दा मजदुरहरुले दैनिक ३ रुपैयाँ ज्याला पाउँथे । अहिले उनीहरुले दैनिक एक हजार रुपैयाँसम्म पाउने गरेका छन्, विष्ट भन्छन्, ‘तर, विमानस्थलमा जहाज कहिले अवतरण गर्ने हो कुनै पत्तो छैन ।’ द्वन्द्वको मार र चुनावी नारा विमानस्थल निर्माण कार्यलाई सशस्त्र द्वन्द्वले पनि नराम्रोसँग प्रभावित पा¥यो ।
विमानस्थल निर्माण कार्यमा खटिएका स्थानीय ७ जनासहित धादिङ, काभ्रे, सिन्धुली र रामेछापका ३५ जना मजदुरको २०५८ साल फागुन महिनामा तत्कालीन शाही नेपाली सेनाले हत्या गरेको थियो । तीमध्ये धादिङ जोगिमाराका १७ जना चेपाङ पनि थिए । त्यसपछि विमानस्थल निर्माणको काम झण्डै ७ वर्षसम्म ठप्प रह्यो । पञ्चायतकालमा निर्माण थालिएको विमानस्थलाई बहुदलीय व्यवस्था आएपछि पनि दलहरुले सधैँ चुनावी एजेण्डा मात्रै बनाउँदै आएका छन् । यही विमानस्थललाई नारा बनाएर धेरै नेता केन्द्रमा पुगिसके । तर, चुनाव जितिसकेपछि कसैले पनि यसको निर्माणमा इमान्दार प्रयत्न गरेका छैनन् ।
वि.सं. २०६४ को संविधानसभा चुनावमा कांग्रेस, एमाले, तत्कालीन एमाओवादी र राप्रपासहित सबै प्रमुख दलका उम्मेद्वारले यो विमानस्थललाई पहिलो प्राथमिकता दिएको बताउँदै भोट मागे । त्यसपछि संविधानसभाको दोस्रो निर्वाचनमा पनि यही एजेण्डाका लागि भोट मागियो । नेपाल पत्रकार महासंघ कालिकोटका उपाध्यक्ष पवित्रकुमार शाही भन्छन्, ‘विमानस्थल सबैको दलको चुवानी नारा मात्र बन्ने गरेको छ ।’ परीक्षण उडानको चर्चा पनि चर्चामै सीमित रहयो । भन्न त २०६७ र ०६८ मा नै परीक्षण उडान गरिने भनिएको थियो । कालिकोटबाटै प्रतिनिधित्व गरेका तत्कालीन पर्यटन तथा नागरिक उड्यन मन्त्री खड्गबहादुर विश्वकर्माले आफ्नै पालामा परीक्षण उडान गर्ने बताएका थिए । विश्वकर्माको पालामा त्यो प्रतिबद्धता पूरा भएन । अहिले कर्णालीबाट नै प्रतिनिधित्व गर्ने जीवनबहादुर शाही पर्यटन तथा नागरिक उड्यन मन्त्री छन्, उनले पनि यही माघको अन्तिम साता परीक्षण उडान गर्ने आश्वासन दिएका छन् । उनको आश्वासन पूरा हुन्छ कि हुँदैन त्यो भने हेर्न बाँकी नै छ ।
प्रतिक्रिया