काठमाडौं, १ माघ । हास्यव्यंग्यकार स्वर्गीय भैरब अर्यालको स्मृतिमा स्थापित भैरब पुरस्कार र भैरब प्रतिभा पुरस्कार २ स्रष्टालाई प्रदान गरिएको छ । काठमाडौं निवासी चट्याङ मास्टर (कृष्णमुरारी गौतम) लाई भैरब पुरस्कार र पोखराका शेषराज भट्टराईलाई भैरब प्रतिभा पुरस्कार प्रदान गरिएको हो ।
भैरब पुरस्कार गुठीले काठमाडौंमा राजधानीमा एक कार्यक्रम गरी वरिष्ठ साहित्यकार तथा समालोचक प्राध्यापक मोहनराज शर्माले स्रष्टाहरु गौतम र भट्टराईलाई ०७१÷७२ को उत्कृष्ट हास्यव्यंग्यकारको पुरस्कार प्रदान गरेका हुन् । प्रत्येक २ वर्षको अन्तरालमा दिइने भैरब पुरस्कारको राशी नगद ५० हजार रुपैयाँ तथा भैरब प्रतिभा पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको गुठीले जनाएको छ ।
गुठीका अनुसार गौतम तथा भट्टराईलाई वर्ष ०७१÷७२ को लागि उत्कृष्ट हास्यव्यंग्यकारको रुपमा पुरस्कृत गरिएको हो । सो कार्यक्रममा अर्यालकै स्मृतिमा आयोजित काठमाडौं क्षेत्र नम्बर २–३ व्यापी माध्यामिक विद्यालयस्तरीय हास्यव्यंग्य प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण गरिएको थियो ।
जसअनुसार पहिलो स्थान मोनास्टिक पब्लिक स्कुलकी छात्रा अविना थापाले हासिल गरेकी छिन् । द्वितीय स्थान जेभियर इन्टरनेसनलकी दृष्टि लम्सालले हात पारेकी छिन् भने आदर्श मावि भद्रवासकी प्रमिला फुयाँल तेस्रो भएकी छिन् । अरुणिामा माविका शौरभ फुयाँलले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । पुरस्कारको राशी क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ रहेको छ । कार्यक्रममा साहित्यकारहरु रोचक घिमिरे विजय चालिसे, लक्ष्मण गाम्नागें, भरतकुमार भट्टराई, गोपाल बराल, वसन्त रिजाललगायतले भैरब अर्याल नेपाली हास्यव्यंग्य क्षेत्रको विराट प्रतिभा भएको विचार राखेका थिए ।
प्रतिक्रिया