कोरियामा नेपाली कविता

कोरिया, २९ पुस । हिउँले चिसिएको कोरियाको राजधानी सौललाई यसै साता चार युवा कविले कविता सुनाएर न्यायो बनाए । अन्तर्राष्ट्रिय साहित्य समाज, दक्षिण कोरिया च्याप्टरले आयोजना गरेको ‘काव्य सुधा’ शीर्षकको कविता वाचनमा कविहरू जीवन खत्री, प्रमोद सारङ, बोनम प्रताप र यल्जी विवसले आफ्ना ५÷५ वटा कविता सुनाएका थिए ।

काव्यसुधाको पहिलो खण्डमा चार कविहरूले कविता वाचन गरेक थिए । ‘म नि सुन्दर थिएँ नि’ शीर्षकको कविताबाट बोनम प्रतापले दर्शकबाट वाह–वाही पाएका थिए । उनले बाउ र फूल, आँशु, फ्ल्यासब्याकमा बूढो मान्छे र ओ समयलाई कमजोर नसम्झ शीर्षकका कविता सुनाएका थिए ।

यस्तै कवि जीवन खत्रीले ‘आग्रह’ शीर्षकको यो कविता सुनाईरहँदा उपस्थित सबै भावुक देखिन्थे । उनले आमाहरूको गन्थन, एउटा खस्रो चित्र, बालुवाको मरूभूमिबाट र बदला शिर्षकका अरु थप कविता सुनाए । अर्का कवि प्रमोद सारङ्गले ‘कुर्ची प्रदान देश’ शीर्षकको कविता सुनाए । उनले पीडाको रंग, आमा र देश, समयपथ, नाथे भोक शीर्षकका कविता वाचन गरे । लगत्तै यल्जी विवसले ‘समय’ शीर्षकको कविता सुनाएका थिए । त्यसपछि उनले काठमाडौं, सबै उसैको हो, ज्योति र दुई देश शीर्षकका कविता लगातार सुनाए ।

श्रृङृखलाबद्ध रुपमा सञ्चालन गरिने काव्य सुधा अन्तर्गतको पहिलो कार्यक्रममा कविता वाचन गर्ने चार कवि, प्रम‍ोद सारङ, जीवन खत्री, बोनम प्रताप र यल्जी विवसलाई अनेसास काव्य पुरस्कार २०१६ समेत प्रदान गरिएको थियो । कार्यक्रममा नेपाली भाषा साहित्यलाई प्रवासमा रहेर पनि निरन्तर योगदान दिएको भन्दै कवि जीवन खत्रीलाई अनेसास देवकोटा पदक, विनोद एकलव्यलाई अनेसास साहित्य सम्मान, समाजसेवी जुनु गुरुङलाई अनेसास सम्मान, विदुर शर्मालाई अनेसास काव्य सम्मान दिइएको थियो ।

यस्तै कार्यक्रमको दोस्रो खण्डमा जितेन्द्र बानियाँ, विनोद परिवर्तीत, समीर कार्की, पूर्वेली गाउँले, कमल परियार, विनोद एकलव्य, सरोज सर्वहारा, दीपेन्द्र भट्टराई, डि आर न्यौपाने, गणेश पौड्याल लगायतले कविता, गजल, मुक्तक वाचन गरेका थिए। उनीहरूका रचनामा जीवनजगत, देशप्रेम ,प्रवासका पीडा जस्ता समसामयिक परिवेश समेटिएका थिए ।

प्रतिक्रिया