काठमाडौं, २९ पुस । ‘एक्सन किङ्ग’को उपनामले परिचित नायक निखिल उप्रेती अभिनित चलचित्र ‘निर्भय’ र रेखा थापाको खलनायकी चलचित्र ‘डायरी’को भिडन्त आगामी ११ चैतमा हुने पक्का भएको छ । ‘निर्भय’को फस्टलुक रिलिज गर्दै प्रदर्शन मिति ११ चैत तय गरिएपछि भिडन्त पक्कापक्की भएको हो ।
माघ २८ गतेको पूर्व निर्धारित रिलिज मितिलाई पर सार्दै अब यो चलचित्रलाई चैत ११ गते रिलिज गर्ने तयारी यसको निर्माणपक्षको छ । चलचित्रका निर्देशक मधुसुदन भट्टराईले निखिलको चलचित्र रिलिजका लागि केही समय ग्याप लिन खोज्दा चैत ११ गतेलाई रोजेको बताए । चलचित्रको फस्टलुकमा निखिल कतै रिसाहा अबतारमा देखिएका छन् भने कतै नायिका नीता ढुंगानासँग प्रेम भावमा छन् ।
प्रसिद्धी सिने आर्टस्को ब्यानरमा तयार भएको यो चलचित्रलाई देवीप्रसाद पाण्डेले निर्माण गरेका हुन् । चलचित्रमा विकास चापागाई, प्रज्वल गिरी, सुशील पोखरेल, विशाल पहारीलगायतका कलाकारको अभिनय पनि छ । हिमाल केसीको एक्सन, रामशरण उप्रेतीको छायांकन, रामजी लामिछानेको नृत्य निर्देशन रहेको चलचित्रमा अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुको संगीत छ । चलचित्रको कथा यम थापाले लेखेका हुन् ।
रेखा खलनायिकाको रुपमा रहेको चलचित्र ‘डायरी’ यही मितिमा रिलिज हुँदैछ । यस्तै दयाहाङ राई र सौगात मल्ल अभिनित चलचित्र ‘लप्पन छप्पन’ पनि चैत ११ मै रिलिज हुने चर्चा छ । निखिल, रेखा, दया, सौगातजस्ता स्टारहरु एकसाथ भिड्दा त्यसको प्रभाव बक्स अफिसमा पर्ने निश्चित छ ।
प्रतिक्रिया