आइटम गीतमा मालाको व्यस्तता

mala_limbuकाठमाडौं, २८ पुस । कुनै पनि मोडललाई चलचित्रको आइटम गीतमा डान्स गर्न पाए त्यसैमार्फत भाग्य बनाउँछन् भनिन्छ । कुनै पनि चलचित्रमा आइटम डान्स गरेपछि चर्चाको शिखरमा नपुग्ने मोडल कमै हुन्छन् ।

प्रियंका कार्कीदेखि नम्रता श्रेष्ठसम्मले आइटम डान्सलाई पहिलो प्राथमिकतामा राख्ने गर्छन् । त्यही सूचीमा परेकी छन् माला लिम्बू पनि । उनी चलचित्र ‘पर्व’ को एक आइटम गीतमा निर्देशक निश्चल बस्नेतसँग कम्मर मर्काएकी छन् । चलचित्रको ‘काले काले’ बोलको गीतमा माला र निश्चलको आइटम नृत्य समावेश छ ।

माला चलचित्रको मुख्य पात्र पनि हुन् । यो आइटम गीतलाई निर्माण पक्षले पनि आशा गरेको गीतका रूपमा लिएको छ । ‘काले काले’ बोलको गीतमा निश्चल बस्नेत र मीना निरौलाको स्वर, दिनेश राउतको शब्द, कोशिस क्षेत्रीको संगीत रहेको छ । ललितपुर च्यासल खेल मैदानको पछाडि सेट लगाएर यो गीतको छायांकन गरिएको छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतलाई राजेश श्रेष्ठले छायांकन गरेका छन् । सुवास गिरी र निकिता पौडेलको लगानीमा शनिबारदेखि छायांकन प्रारम्भ गरिएको छ ।

प्रतिक्रिया