“अधुरो क्यानभास”को सिक्वेल मञ्चन

canvas-copyसुनसरी, २७ पुस । धरानस्थित सभागृहमा आरम्भ नाट्य डबलीद्वारा मञ्चन गरिएको एकल नाटक ‘अधुरो क्यानभास’को सिक्वेल सोमबार साँझ प्रस्तुत गरिएको छ । अधुरो क्यानभासमा रंगकर्मी पानस गुरुङले सशक्त अभिनय गरेकी छन् ।

सुरुदेखि अन्त्यसम्म एकल अभिनय र संवादद्वारा दर्शकहरूलाई एकाग्र बनाउन पानस सफल भएकी छन् । आरम्भका अध्यक्ष गोपाल देवानको लेखन रहेको नाटकलाई सचिन क्षेत्री र राजन राईले निर्देशन गरेका हुन् । मञ्चको परिकल्पना सचिव प्रविण राईको हो । आरम्भको सुरुआती समयमा सुरज सुब्बा नाल्बोले अधुरो क्यानभासमा एकल अभिनय गरेका थिए ।

अधुरो क्यानभासको सिक्वेलमा नाटकका पात्र मुक्ति र निमुको दाम्पत्य जीवन र राजनीतिक परिवर्तनपछिको कुण्ठा तथा वैराग्यताका बारेमा चर्चा गरिएको छ । नाटकमा मुक्ति कवि अनि चित्रकारका रूपमा उभाइएका छन् । ०६२÷६३ को जनआन्दोलनमा राजतन्त्र मुर्दावादको नारा लगाउँदै मुक्तिका दुवै दम्पत्ती स्वतःस्फुर्त सडकमा उत्रन्छन् ।

मुक्तिलाई निरंकुश सत्ताको गोली लाग्छ, उनी सडकमै ढल्छन् । रक्ताम्य श्रीमान (मुक्ति)को शव काखमा लिएर रोइरहेकी निमुलाई पनि पाखुरामा गोली लाग्छ । निरंकुश सत्ता उनीप्रति कति पनि दया देखिँदैन । पक्राउ गरेर कालकोठरी जेलमा कोच्छ । उनी जेलमुक्त हँुदा नेपालमा लोकतान्त्रिक गणतन्त्र अर्थात नयाँ बिहानी आइसकेको हुन्छ । तर, यो नयाँ बिहानीले निमुको जीवनमा भने खुसीको बिहानी ल्याउँदैन । जनआन्दोलनमा शाहदत प्राप्त गरेका आफ्नो पति(मुक्ति)को नाम निमुले सहिदको सूचीमा भेट्दिनन् । गोली लागेर घाइते भएको अवस्थामा पनि उनी जेलमा कोचिनु पर्छ । एउटा पाखुरा राम्रोसँग चल्दैन । तर, उनी राजनीतिक पीडितको सूचीमा पर्दिनन् ।

‘सत्ता मात्रै परिवर्तन भएछ, राजीतिक व्यवस्था मात्रै फेरिएछ । सहिदलाई त पार्टीहरूले भागबन्डा लगाइसकेछन् । हामी त कुनै पार्टीमा थिएनौँ, स्वतःस्फुर्त आन्दोलनमा गएका थियौँ’, निमु एक्लै पीडा पोख्छिन्, ‘सहिद र सहिद परिवारको मूल्यांकन छैन । देशमा अझै अमनचयन शान्ति छैन, सुशासन छैन । जताततै विकृति, भ्रष्टाचार बढेको छ ।’ पतिसँगको वियोग अनि सत्ताले गरेको चरम वेवास्थाले निमु विक्षिप्त बन्छिन् । घरको एक छेऊमा मुक्तिले अधुरै छोडेको क्यानभासलाई पूरा गर्न कोसिस गर्छिन, तर सक्दिनन् । त्यो क्यानभास पूरा गर्न मुक्ति आउँछ भन्ने भ्रम पालेर बस्छिन् । मुक्तिको पदचाप आएको ठानेर ऐना हेर्दै आफूलाई सिंगार्छिन् । तर, सब भ्रम मात्र हुन्छ । उनी एक्लै रुन्छिन्, चिच्याउँछिन् र मनभित्र गाँठो परेको कुन्ठालाई आशुसँगै पखाल्छिन् ।

हिंस्रक बाजहरूबाट जोगाउन निमुको परेवलाई पिँजडाभित्र राखेकी हुन्छिन् । स्वतन्त्र उड्ने पंक्षीको स्वतन्त्रता खोसेर कहिलेसम्म पिंजडामा कैद गर्ने ? उनी आफैँ जुक्ति निकाल्छिन, परेवालाई नै सशस्त्र बनाउने । शान्तिको प्रतिक मानिने परेवालाई शस्त्र थमाएर निमु पिँजडाबाट मुक्त गर्छिन् । ठीक त्यसैबेला उनको घर नजिक दुर्घटना हुन्छ । स्कुलबाट फर्कंदै गरेको उनको मुक्ति र निमुको प्रेमको एक मात्र निसानी, छोरा आगतको पनि झन्डावाल गाडीले ठक्कर दिएर मृत्यु हुन्छ ।

देशमा लोकतान्त्रिक गणतन्त्र आयो, तर त्यही लोकतन्त्र र गणतन्त्रको लागि ज्यान दिने मुक्तिहरू, तिनका परिवारजन र जनताले भने कुनै परिवर्तनको महसुस गर्न पाएका छैनन् । व्यवस्था फेरियो, तर सत्तामा पुगेका नेता र तिनका प्रवृत्ति उस्तै रहेको भन्दै नाटकको अन्त्य गरिएको छ ।

प्रतिक्रिया