काठमाडौं, २७ पुस । ‘मिसेस हिमालयन–२०१७’ को ताज अम्बिका तिमल्सिनाले हात पारेकी छन् । निर्णायक मण्डलका प्रमुख निर्णायक आरजे तथा मोडल कला सुब्बाले गरेको अन्तिम प्रश्नको उत्कृष्ट उत्तर दिँदै अम्बिकाले उपाधि चुमेकी हुन् ।
जमलस्थित राष्ट्रिय नाचघरमा सोमबार भएको फाइनल प्रतियोगितामा अम्बिकाले ‘मिसेस हिमालयन–२०१७’को उपाधि चुम्दा पुनम बर्देवाले फस्ट रनरअपको उपाधि जितिन् । यस्तै सेकेन्ड रनरअपको उपाधि सुशीला गौतम र थर्ड रनरअपको उपाधि अम्बिका गुरुङले हात पारेका छन् । विजेता विनरहरूलाई ताज, ट्रफी तथा अन्य धेरै गिफ्टह्याम्परहरू प्रदान गरिएको थियो ।
विवाहित महिलाहरूको क्षमता अभिवृद्धि र सामाजिक काममा अग्रसर गराउने उद्देश्यले एमाजोन इन्टरटेन्मेन्टले आयोजना गरेको प्रतियोगितामा सब–टाइटलअन्तर्गत बेस्ट ट्यालेन्टको उपाधि पुनम बर्देवा, बेस्ट फोटोजेनिक अम्बिका गुरुङ, बेस्ट क्यटवाल्क रोशना मास्के, मोस्ट एक्टिभ प्रकृति श्रेष्ठ, बेस्ट स्किन आरती थापा मगर, बेस्ट हेयर अम्बिका तिमल्सिना, मोस्ट डिसिप्लेन मात्रिका आले मगरले जितेका छन् ।
त्यस्तै मोस्ट ब्युटिफुल रजनी गुरुङ, मोस्ट कन्फिडेन्ट सुशीला गौतम, मोस्ट चार्मिङ कमला पुन मगर, मोस्ट इनोसेन्ट बिनु राई न्यौपाने, मोस्ट पपुलर अम्बिका गुरुङ र बेस्ट ड्रेसअन्तर्गत रजनी गुरुङले सब–टाइटलमा जितेका छन् ।
अन्तिम प्रतिस्पर्धाको निर्णायकहरूमा आरजे तथा मोडल कला सुब्बा, मोडल तथा अभिनेता दिक्पाल कार्की, ब्युटिसियन गौरा राई क्षेत्री र पत्रकार अरूणा भट्टराई रहेका थिए ।
चौथो चोटी आयोजना भएको ‘मिसेस हिमालयन–२०१७’ का प्रतिस्पर्धीहरूलाई आयोजक संस्था एमाजोन इन्टरटेन्मेन्टका अफिसियल कोरियोग्राफर हिमानी सुब्बाले कोरियोग्राफ गरेकी थिइन् । विजेताहरूलाई एमाजोन इन्टरटेन्मेन्टका अध्यक्ष कमल खतिवडा, एमाजोन इन्टरटेन्मेन्टकै अफिसियल कोरियोग्राफर हिमानी सुब्बा, निर्णायकहरू आरजे तथा मोडल कला सुब्बा, मोडल तथा अभिनेता दिक्पाल कार्की, ब्युटिसियन गौरा राई क्षेत्री, पत्रकार अरूणा भट्टराई, विशाल चौतारी डटकमका प्रधानसम्पादक विशाल राईलगायतले ट्रफी र ताज पहिराइदिएका थिए । कार्यक्रममा नृत्य, गीत प्रस्तुतीमार्फत दर्शकहरूलाई मनोरञ्जन दिइएको थियो । कार्यक्रममा चर्चित पप गायक धीरज राई, गायिका तायाहाङमा राईले गीत प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया