अलगमा बालन्द राई र बिना थिङ

aalg-abhiyanकाठमाडौं, २६ पुस । हरेक महिना अलग ढंगले साहित्य र संगीतलाई प्रस्तुत् गर्दै आएको अलग अभियानको समूहले पुसको श्रृंखलामा गायक तथा संगीतकार बालन्द राई र कवि तथा कथाकार बिना थिङ तामाङलाई उभ्याएको छ । अलग अभियानको यो श्रृंखलामा राईले रोचक शैलीमा आफ्नो कथा सुनाउँदै केही गीत पस्किए । उनले चर्चित युगल गीतहरु ‘मिनि बसैमा’ र ‘उकाली ओराली’ प्रस्तुत गर्दा गायिकाद्वय पार्वती राई र आभा मुकारुङले साथ दिएका थिए । उनले साहित्य र संगीतको मिश्रण राम्रो लागेको बताउँदै निरन्तरताको लागि शुभेच्छा व्यक्त गरेका छन् ।

थिङले पनि आफ्नो विगत फुकाउँदै आफ्ना सशक्त पाँच कविता सुनाइन् । उनले भनिन् ‘यसएलसी दिए लगत्तै मेरो विवाह भयो, मेरो पढाइ रोकियो, पछि मैले शिक्षकको जागिर पाएँ र पढाई निरन्तरता दिएँ । लेखन पनि मैले पछि मात्र सुरु गरेको हुँ । सबैको जीवनमा अप्ठ्यारा परिस्थितिहरु आउँछन् तर आत्तिनु हुँदैन ।’

अतिथिहरुको अलवा कविहरु स्वप्निल स्मृति, अमित चाम्लिङ, सांकेन बान्तावा, बम बानियाँ, रोशन यक्सो, नारायण नेपाल, नमन अनु, ज्योति भट्टराई लगायतले कविता वाचन गरे भने मण्डल साम्पाङ, भिमसेना राई, रेवत राई, यम समाल, कर्ण लामा, सुनिता राई, सुरज लामा, नाकिमा नाकिम लगातयले सांगीतिक प्रस्तुति दिएका थिए । अलग अभियानले हरेक महिना साहित्य र संगीतको शृंखला आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया