धेरै पहिले भैरव अर्यालले भुँडी पुराण लेखेका थिए । त्यो पुराण पञ्चायत, बहुदलको कालखण्डबाट खारिएर जन्मेको लोकतन्त्रमा पनि उत्तिकै सान्दर्भिक देखिन्छ । कस्तो सर्वकालिक पुराण लेखेछन् भैरवजीले । नेपालको पानी कति मीठो नानी भनिन्छ । यति मीठो पानी पिएका नेताहरूको स्वार्थी चरित्र देख्दा लाग्छ, नेताहरूभित्र कुन रसायन छ, जसले दूध खाएको सर्पले विष ओकलेभैmँ जनादेश खाएर जनघात ओकल्छन् ।
यिनको स्वार्थ भुँडी र भ्रष्टाचार मात्र भयो, देश र दुनियाँ कहिले पनि बन्न सकेनन् । कसैलाई छोरी प्यारो, कसैलाई छोरा, भाइ र आफन्त, कसैलाई गुट प्यारो, कसैलाई विदेशी प्रभू । जहाँ जनताको स्वार्थ हेरिन्न, त्यहाँ देशको स्वार्थ स्वतः छायाँमा पर्न जान्छ । ठ्याक्कै त्यही, भैरवको भुँडी पुराण नेपाल बन्यो ।
हिजो एउटा राजा थिए, तिनले १२ करोडको वार्षिक भत्ता ७२ करोड पु¥याए भनेर जनआन्दोलनमा ठूलै भूकम्प ल्याइयो । सत्ता सुनको किस्तीमा राखेर र भत्ता पाउमा लगेर अर्पण गर्ने यिनै नेता हुन् । जनताले निरंकुशता फाल भन्ने जनादेश थिएका थिए, नेताहरू मिलेर निरंकुशताका नाममा राजा फालिदिए र आफैँ नयाँ सामन्त, बादशाह बन्न पुगे ।
एउटालाई विस्थापित नगरी अर्को स्थापित हुन नसक्ने अर्थसूत्र राजनीतिमा पनि देखियो । राजा विस्थापित भए, नेताहरू महाराजा बनेर स्थापित भएका छन् । देशबाट न सामन्त हट्यो, न सामन्ती, राजनीति । विकृति बलिया चिलाउनेका रुख भएर ठडिएका छन्, लोकराज राजनीतिको पैतालाले थिचिँदै रुन्चे हुँदै गएको छ ।
कहाँ छैन भ्रष्टाचार ? बच्चाले खाने दूध होस् अथवा बुढाले खाने औषधि, युवायुवतीलाई विदेश लखेट्ने तरिकामा होस् अथवा मजदूरको हकहितको संरक्षणमा । सेवाग्राहीलाई दिनुपर्ने सेवा बिटुलो छ, शान्ति सुरक्षा शंकास्पद छ । विदेशबाट सार्प सुटर आउँछन् र मान्छे मार्छन, हाम्रा सुरक्षा निकाय उनीहरूले लाए अह्राएजस्तो काम गर्छन् । यो देशको सत्व सतित्व कहाँ छ ? कुराले लोकतन्त्र बलियो हुन्न ।
लोकतन्त्र ठग, अनैतिक, चरित्रहीनहरूको मौजा बन्यो । लोकतान्त्रिक विधि र व्यवहार रहेन यो लोकतन्त्रमा । लोकतन्त्र विखण्डन र विभाजनको विषवृक्ष बन्यो, जसले छहारी होइन, छद्मभेषीहरूलाई हुर्काइरहेको छ । हिजो हुक्के, बैठके शक्तिशाली देखिन्थे, आज झोले, चम्चेहरू बलिया बनेका छन् ।
जनतालाई निर्धो बनाएर देश लुटिने निरन्तरता रोकिएको छैन । लोकलज्जासमेत लज्जित हुनेगरी भ्रष्टाचारको महामारी प्रकोप बनिरहेको छ । यो प्रकोपलाई रोक्ने, लोकको चाहना परिपूर्ति गर्ने राजनीतिक भाषण हात्तीको देखाउने दाँतजस्तो छ । भ्रष्टाचार चपाएर देखाएको नक्कली दाँतलाई लोकतन्त्र कसरी मान्ने ?
देशको सबैभन्दा शक्तिशाली प्रधानमन्त्रीको सम्पत्ति एक कठ्ठा जग्गा र ३ तोला सुन रे, त्यो पनि पार्टीको रे । त्यही पार्टीका, जनयुद्धका सहयोगी बाबुराम भट्टराई भन्छन्, ‘प्रचण्डसँगजति कालोधन कोहीसँग छैन ।’ विश्व समाचार आइसकेको हो, दक्षिण एसियामा सबैभन्दा धनी र धनाड्यहरूको पार्टी हो प्रचण्ड नेतृत्वको माओवादी ।
तर, नवसम्भ्रान्त प्रचण्ड टाउकामा जेल हालेर हिड्छन्, सुटमाथि टाई र टाउकामा टोपी लगाएर नयाँ मुसलमानले प्याज धेरै खाएजसरी डकार्छन्, म गरिब प्रधानमन्त्री हुँ । भनिन्छ, सुख लुकाएर लुक्दैन, प्रचण्डको अनुहारले नै उनलाई सुकिलामुकिला देखाइरहेकै छ । उनको गरिबीलाई उनकै लडाकू कार्यकर्तालेसमेत पत्याएनन् । भन्दैछन, ‘हिजो रगत पियौ, आज भ्रष्टाचार पिउँदै छौँ, तिमी कसरी गरिब ?
शान्ति र प्रगतिका कुरा गर्नेहरूले त्यसअनुरूपको कार्यान्वयनको चाहना देखाउन सकेनन् । विश्वले सघाएको छ, सघाउने इच्छा राखेको छ, त्यो सहयोग र सद्भावलाई नेपालीको हितमा प्रयोग गर्न नसक्नु राजनीतिक कमजोरी हो । राजनीतिक क्षेत्रमा योग्यताको कमी छैन, योग्यतालाई स्वार्थलम्पट बनाउनाले राष्ट्र कमजोर बन्दै गएको छ ।
यही स्वार्थी चरित्र राजनीतिको अक्षम कार्यकाल बन्नपुगेको छ, राजनीतिक नेतृत्वलाई बुख्याँचा बनाएको छ । बुख्याँचाले सिर्जना गर्न सक्दैन, बुख्याँचा भयको प्रतीक मात्र हो । बुख्याँचा विकास होइन ।
हिजो एउटा राजाको पेट थियो, आज थुप्रै राजा र तिनका ठूला परिवार छन् । राजा सिंहदरबारमा मात्र छैनन्, गल्लीगल्लीमा जन्मेका छन् । बाहुबलीले पनि आफूलाई राजा नै ठान्छ । कोही जबरजस्ती चन्दा उठाउने राजा, कोही नागरिक अपहरण गरेर फिरौती उठाउने राजा, कोही राज्यको ढुकुटी लुड्याउने र भ्रष्टाचार गर्ने राजा । बजारमा माफिया राजा छ ।
प्रशासनदेखि सुरक्षा निकायसम्म अनाचारका राजा छन् । कूटनीतिज्ञ र राष्ट्रसंघको प्रतिनिधि राजा पनि यहीँ छन् । कूटनीतिज्ञहरूले पनि राजाकै भूमिका निभाइरहेका छन् । भारतका राजदूत त राजाभन्दा माथिको ‘भायसराय’ नै बनेर हुकुम चलाइरहेका छन् । लोकतन्त्रमा रावणकाभन्दा बढी मुख भएका भ्रष्टाचार–रावणहरू देखापरेका छन् । यिनै भ्रष्टाचारीहरू आर्थिक विकासको गफ हाँकेर जनताको आँखामा धुलो छरिरहेका छन् ।
राजनीति सिन्डिकेट बनेको छ । सिन्डिकेट राजनीति र लोकतन्त्रको फ्युजनले भिजनको ठाउँमा भ्रष्टाचार उत्पादन गरिदिएको छ । हिजो लालफित्ताशाही भनिने स्थायी सरकार आज कुशासनको काई बन्न पुगेको छ । अमान्यहरू सर्वमान्य बनेकाले हिजोको व्यवस्था लाहुरे प्रजातन्त्र बन्यो, आजको व्यवस्था लाहुरे लोकतन्त्र बन्दै छ । विश्वमा कतै लोकतन्त्रको सुखद शासन पंगु शासन हो भनेर प्रमाणित भयो भने त्यो नेपालबाटै हुनेछ । यस्ता कोरा कालिगडले निर्माण गर्ने नयाँ नेपाल कस्तो बन्ला ? बिहानले दिनको मौसमको अनुमान गर्छ भनेर मान्ने हो भने लोकतन्त्र लोकलज्जा बनिसक्यो ।
हिजो राजाले खायो, सिध्यायो भनियो । आज सयौंँ राजाले ब्रम्हलुट नै मच्चाएका छन् । हिजो पञ्चेले लुटे, आज हामीले किन खान नपाउने भन्ने खालको मनस्थिति विकास भएको छ । लोकशासनका लागि नसुहाउने डरलाग्दा लक्षणहरू विकसित भइरहेका छन् । कम्युनिस्ट र कम्युन्यालिस्ट, कांग्रेस र करप्सन, एमाले र लेमाले, मधेस र विखण्डनले देशको भविष्य अनिश्चित बनाउन थालेको छ ।
राष्ट्रिय एकता टुक्रा पारेर टोकरी–टोकरीमा विभाजन गर्नु भनेको लोकतन्त्र विपरीत काम हो । यस्तो आपत्तिजनक कामलाई राजनीतिक वर्ग समानता, स्वायत्तता र अधिकारको लेपन लगाइरहेको छ । जुन जनस्वीकार्य छैन । अर्थविकासका सर्तको घोर उल्लंघन पनि हो ।
शान्ति आउँछ, शान्ति ल्याउँछौँ भन्ने राजनीतिक दलहरू अपराधीका सेल्टर बनेका छन् । हरेक राजनीतिक दलहरूले अपराधी दस्ता पालेर राखेका छन् । हरेक राजनीतिक नेता अपराधीको संरक्षणमा सुरक्षित छु भन्ने मानसिकता पालेर हिँडडुल गर्छन् । लोकतन्त्र अपराधी चोख्खिने बाइसधारा बनेपछि लोककल्याणकारी राज्य बदनाम हुनु स्वभाविक हो ।
जन–सन्तुष्टिका उत्पादक हुनुपर्ने राजनीतिक दलहरू अपराधको कारखाना बनेपछि लोकतान्त्रिक भुँडी र भ्रष्टाचार बढ्छ । नेपालमा भुँडी भ्रष्टाचार बढेको छ । जय भैरव अर्यालको भुँडी पुराण ।
अहिले संघीयता र सीमांकनको मुद्दामा संविधान रगतले लथपथ हुनथालेको छ । भारत के चाहन्छ, नेपाललाई हति अराजकताको डढेलो बनाउन चाहन्छ, त्यो सन्देश लोकतन्त्रको तुर्की घोडा हाँक्नेहरूले बुझेका छैनन् । जब क्रान्तिनायक, जन–नायकहरू अपराधतन्त्रका खलनायक बन्छन्, विदेशीले यसै गरेर हेप्छन् । यो हेपाइँ राजनीतिक दलहरूले हाजमोलाले पचाएझैँ पचाउँछन्, तब देश देश नरहेर कठपुतली बन्नपुग्छ । नेपालमा कठपुतली राजनीति चलिरहेको छ ।
लोकतन्त्रको आवरणमा कठपुतली शासन चलिरहेको छ । कठपुतलीको स्वराज हुन्न, स्वचालित शक्ति पनि हुन्न, परजीवीले के विकास गर्ने ? परजीवीको के स्वाधीनता, के सार्वभौमिकता ?
माओवादीले ‘कठपुतली’ शव्द प्रयोगमा ल्यायो । नेपालका नेताहरू कठपुतली नै हुन् । हुन त नागरिकताका सवालमा माओवादी पनि कठपुतली नै बनेर २३ लाख विदेशीलाई नागरिकता बाँड्न सहमत भयो । तर, माओवादी यति शक्तिशाली छ कि उसले चाह्यो भने नेपालको दुर्भाग्यलाई भाग्यमा परिणत गर्नसक्छ ।
त्यो ताकत माओवादीले ‘लालुपाते नुह्यो भुइँतिर’को नाचगानमा फजुल खर्च गरेका पनि देखियो र सँगै नाच्ने नायिका हिरोइनले समेत राजनीतिक नायकलाई पत्याइनन् र राप्रपातिर लस्किइन् । च्याँखे थाप्नेहरू हार्ने खतरामा हुन्छन् । माओवादीको रणनीति च्याँखे बल्झाउने रणनीति बन्नपुग्यो, यो अवसर विदेशीका लागि गोल हान्ने सुवर्ण अवसर बन्यो । नयाँ नेपालको सम्भावना झनझन् पछि धकेलिँदै छ । अहिलेको संवैधानिक संकट त्यही हो, अस्थिरता र अराजकताले अर्थतन्त्र सखाप हुनथाल्नुको कारण पनि त्यही हो ।
आज पनि माओवादी भुँडीलाई महत्व दिइरहेको छ । आफ्नो भुँडी, नेताहरूको भुँडी, कार्यकर्ताहरूको भुँडी, लडाकुको भुँडी, सांसदहरूको भुँडी । सत्तामा पुग्नसके भुँडी झन ठूलो हुने कल्पनामा डुब्यो माओवादी । भुँडी राजनीति दीर्घकालीन हुन्न । जसले निहुँ खोज्छ, पहिलेको राजतन्त्रको स्थितिमा पु¥याइदिन्छु भनेर पहलमानको फूर्ति झाड्छ । यस्तो हलुका फूर्तिले आफ्नो कद खस्केको उसले देखिरहेको छैन ।
भुँडी मात्र हेर्दा माओवादी–एमाले र कांग्रेसको हाराहारीमा होइन, हिजोका लुटाह भनिएका पञ्चेको हाराहारीभन्दा पनि तल पुगिसक्यो । लोकतन्त्रको बिडा उठाउनेले आफन्त हेर्ने होइन, भुँडी हेर्ने होइन, तत्कालको स्वादमा जिब्रो फड्कार्ने पनि होइन । माओवादीले त्यही गल्ती ग¥यो र लोकप्रियताको शिखरबाट ओह्रालो यात्रा सुरु ग¥यो । भीडलाई शक्तिशाली भएँ भन्ने माओवादीले सोचेको छ ।
माओवादीले बिर्सियो– हिजो पञ्चायतका बेलामा यस्तो भिड जोगमेहर श्रेष्ठले एकरातमा निकाल्थे, राजाका पछाडि हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ भन्नेको कमी थिएन । भिड शक्ति हुने गर्दैन । नेपोलियन भन्ने गर्थे, ‘मलाई भिड चाहिँदैन, भिडलाई नियन्त्रण गर्नसक्ने सय जना भए पुग्छ ।’ आधुनिक राजनीतिले यो सत्य बुझ्न सकेन वा बुझेर बुझ पचायो । देशलाई बर्बाद पार्दै लगेको छ ।
लोकतन्त्र मुस्ताङको चौँरी हो र ? चौँरीको ताजा तातोरगत गिलासको ६० रुपियाँमा तनक्कै पार्नेहरूको भीड लाग्छ । चौँरीको रगत पिएपछि कडा रोग लाग्दैन, निरोगी बन्ने विश्वास गरेर मुस्ताङतिर जानेको भिड देखिन्छ आजकल । लोकतन्त्र मुस्ताङको चौरीको रगत पिएझैँ भ्रष्टाचार पिएर तन्दुरुस्त हुन सक्दैन । लोकको तातो रातो रगतलाई भ्रष्टाचार–रस बनाएर पिउने र तन्दुरुस्त हुने सत्ता छेउछाउ भिड देखिन्छ । जनता विवश छन्, चौँरी बनेर नेताहरूको स्वास्थ्यका लागि रगत–जल पिलाइरहेका छन् । कहिलेसम्म चल्छ यसरी ? एकदिन त जनता पनि ब्युँझेलान्, हस्तक्षेप गर्न तम्सेलान् ?
आजको मुल प्रश्न लोकतन्त्रको फाँटमा राजनीतिक दलहरू कति लोकतन्त्रवादी देखिए भन्ने हो । शान्ति यिनको एजेन्डा हो । राजनीतिक भुँडी र भ्रष्टाचारले शान्तिमाथि निरन्तर अशान्ति पैmलाइरहेको छ । अशान्तिका कारक कसरी लोकतन्त्रवादी हुनसक्छ ? शान्तिकामीले असह्य बलात्कारको विद्रोह गर्ने दिन पनि आउँछ, त्यो दिन आयो भने त्यसपछिको रक्तपात, गृहयुद्धलाई रोक्ने कसले ? नेपाली जनता उठ्दैन, उठेपछि छोड्दैन भन्ने उदाहरण जनआन्दोलन दुई पनि हो । तीन पनि हुनसक्छ ।
वर्तमानमा देखिएको असह्य राष्ट्रिय वेदना भनेको नेताहरूको खन्चुवा भुँडीप्रेम नै हो । नेताहरूले भुँडीस्वार्थ नबिर्सी अपराधतत्वको आरोपबाट बरी हुनसक्ने छैनन् । भुँडी र भ्रष्टाचार राष्ट्रलाई लागेको क्षयरोगको बिमारी हो । टिबी रोग निश्चित समय औषधि खाने हो भने निको हुन्छ । औषधि टुटाउनु वा छुटाउनु मृत्युलाई निम्त्याउनु हो । विज्ञानको यो सत्यलाई आत्मसात गरेर नेताहरूले हिजोको अवस्थामा देखिएको भुँडीप्रेमलाई निरन्तरता दिए भने यो रोगले लोकतन्त्रलाई भन्दा पनि लोकनेतालाई मृत्युको मुखमा पु¥याउने छ । खतराको आहट सुनौँ ।
भ्रष्टाचार र खन्चुवा भुँडीका कारणले राजनीतिक नेताहरू बदनाम हुँदै गएका छन् । यो बदनामीमा बच्ने हो भने राजनीतिक नेतृत्वले प्रत्येक नेपालीका छोराछोरीलाई समान आँखाले विधिले हेर्नुप¥यो, काविलियतका आधारको सम्मान दिनुप¥यो । प्रत्येक नेपालीले खोजेको शान्ति दिएर सबैलाई समान व्यवहार गर्न सक्नुप¥यो, देशहित र जनहितलाई प्राथमिकतामा पार्नुप¥यो । तब मात्र लोकतन्त्रमा दण्डहीनता, विधिको शासन र समानताको युग सुरु हुनसक्छ । लोकतन्त्रभन्दा उत्तमतन्त्र अरू छैन ।
जब लोक नै लोकतन्त्रबाट पीडित बन्छन् भने त्यस्तो तन्त्र कसरी लोकतन्त्र भएर रहन सक्छ ? आवरणले सुन हुने भए सबै पित्तल सुन हुने थिए । सुन पनि गोलको भुंग्र्रोमा नपाकी गहना बन्न सक्दैन । नेताहरू र लोकतन्त्रमाथि खरी घसिँदै छ । जनताको, देशको नेता त बन्न सकेनन्–सकेनन्न्, आफ्नै सिद्धान्तप्रति इमानदार बन्ने प्रेरणा आफँैबाट जगाउन सकेनन् भने आजका लोकनेताहरू भैरव अर्यालका भुँडी पुराणका पात्रभन्दा भिन्न हुने छैनन् । यसकारण भ्रष्टाचारको सुनामी रोकिन जरुरी छ, यो सुनामी रोकियो कि अराजकता र अस्थिरता पनि रोकिने छ, नयाँ नेपाल निर्माण सुरु हुनेछ ।
प्रतिक्रिया