‘प्रगतिशील’ भनेको प्रगतितिर उन्मुख वा प्रगतिको गुण भएको, अगाडितिर जाने गुण भएको सोचाइ वा चिन्तन हो । अहिले जे छ, त्यसैमा सीमित नभई यथास्थितिमा रहेका अपुग, खराबी आदिको अन्त्य गर्दै अझ राम्रो र उन्नत अवस्थातर्फ उन्मुख हुने गुण नै प्रगतिशीलता हो । अहिले भइरहेको अथवा यथास्थितिमा रहेका कमी, कमजोरी, खराबी, विसंगति, कुरीति, भ्रष्ट्राचार, शोषण आदिप्रति सामान्य असन्तुष्टि राख्दा मात्र पनि प्रगतिशीलता हुन्छ । प्रगतिशील सापेक्षित कुरा हो । राणाकालमा पढ्न लेख्न पाउनुु नै प्रगतिशीलता हुन्थ्यो । पञ्चायत कालमा बहुदलको कुरा नै प्रगतिशीलता हुन्थ्यो । दास युगमा सामन्तवाद प्रगतिशील हुन्थ्यो । सामन्तवादमा पूँजीवाद प्रगतिशील हुन्थ्यो । अब हामी पूँजीवादमा छौँ, त्यसैले अबको प्रगतिशीलता भनेको समाजवाद हो ।
मान्छेमा अझ अगाडि अझ अगाडि जाने स्वभाव हुन्छ, त्यसैले प्रगतिशीलता पनि समयक्रममा फेरिँदै जान्छ । अहिले हामी पहिचानलाई प्रगतिशील भनिरहेका छौँ । पहिचानलाई नामेट गर्ने व्यवस्था भन्दा पहिचानको रक्षा हुनु प्रगतिशील कुरा हो । आज पहिचान स्वदेशमै अरु सरह हुन पाऊँ भन्ने नारा हो । आज ज–जसले जात, धर्म, भाषा, क्षेत्र, संस्कृति आदिका आधारमा आफूहरूमाथि विभेद गरिएको महसुस गरेका छन्, उनीहरू पहिचानलाई जोडतोडले उठाइरहेका छन् । उनीहरूका लागि त्यो प्रगतिशील कुरा हो । ज–जसलाई त्यस्तो विभेद भोग्नु परेको छैन, उनीहरू जाति, धर्म र सम्प्रदायका कुरा गर्नुलाई सङ्कीर्णताका रूपमा हेर्छन्, आफूले विभेद खेप्नु नपरेकाले उनीहरूलाई त्यस्तो लागेको हो । एउटै देशमा कसैको मनपरी चल्ने, कसैको पहिचान र अस्तित्वमाथि नै खेलबाड गरिने अवस्था रहँदासम्म पहिचानको विषय प्रगतिशील नारा हो । भोलि सबैले आफ्नो पहिचानको उपभोग गर्न पाउने भएपछि मानिस आफ्नो जाति र राष्ट्र भन्दा पनि फराकिलो हुन चाहन्छ । त्यति बेला उसलाई जाति र राष्ट्रको घेरामा आफू बन्दी भए जस्तो लाग्न थाल्छ र ऊ अन्तर्राष्ट्रिय मानव बन्न खोज्छ । त्यति बेला अहिले प्रगतिशील ठानिएको पहिचानको कुरा यथास्थितिवादी नारा हुन जान्छ, प्रतिगामी नारा (पछाडि फर्किने) पनि हुन सक्छ ।
प्रगतिवाद माक्र्सवादी सिद्धान्तमा आधारित छ । माक्र्सवादी साहित्यको अर्को नाम नै प्रगतिवाद हो । अर्को शब्दमा भन्दा साहित्यमा प्रयोग हुने माक्र्सवादलाई प्रगतिवाद भनिन्छ । माक्र्सवादी तरिकाबाट अगाडि बढ्नु पर्छ भन्ने मान्यता वा सिद्धान्तलाई नै साहित्यका सन्दर्भमा प्रगतिवाद भनिन्छ । माक्र्सवादी मान्यतालाई अस्वीकार गर्ने सामान्य सुधारवादी वा यथास्थितिबाट अगाडि बढ्न चाहने जो सुकै प्रगतिशील हुन सक्छन् । तर सबै प्रगतिशील प्रगतिवादी हुँदैनन् । माक्र्सवादी प्रगतिशीलहरू मात्र प्रगतिवादी हुन्छन् । प्रगतिवादले साहित्यलाई पनि वर्गीय आधारमा हेर्छ । साहित्य निर्वर्गीय हुन्छ भन्ने मान्यतालाई यसले अस्वीकार गर्छ । प्रगतिवाद माक्र्सवादी चिन्तनमा आधारित भएकाले यसले संसारका उत्पीडितहरू एक हौँ भन्छ । यसले सबै प्रकारका उत्पीडनबाट मुक्ति हुनुपर्छ भन्छ र सबै खाले विभेद, शोषण, उत्पीडनको विरोध गर्छ । यसले समाजवाद हुँदै साम्यवादसम्मको यात्रालाई लक्ष्य बनाउँछ । यसले शोषणरहित, स्वतन्त्र र अन्तर्राष्ट्रिय मानव बनाउने लक्ष्य लिएको छ ।
प्रजातन्त्र (डेमोक्रेसी) को पर्यायवाची शब्द हो– जनवाद । बुर्जुआहरूले प्रजातन्त्रका नाममा गैर प्रजातान्त्रिक काम गरी यसको अर्थ र मर्ममाथि नै प्रहार गरेकाले वामपन्थीहरूले प्रजातन्त्र नभनेर जनवाद भनेका होलान् (जसरी हामीकहाँ प्रजातन्त्रका ठेकेदारहरू भ्रष्ट र विकृति भएपछि हामीले यसलाई लोकतन्त्र भन्यौँ) । माओको नेतृत्वमा सम्पन्न चिनियाँ क्रान्तिलाई नौलो जनवादी क्रान्ति भनियो । रुसमा भएको क्रान्तिलाई चाहिँ समाजावादी क्रान्ति भनियो । कारण के हे भने रुसमा पुँजीवादको विकास भएको थियो र सोझै समाजवादमा जाने परिस्थिति थियो र त्यहाँको क्रान्तिको नेतृत्व मजदुर वर्गले गरेका थिए । चीनमा पूँजीवादको विकास भएको थिएन । त्यहाँ पहिले सामान्तवाद (कृषिमा आधारित अर्थतन्त्र) का विरुद्ध लड्नुपथ्र्यो र किसान वर्गको नेतृत्वमा क्रान्ति भयो । त्यसलाई नयाँ जनवादी (नौलो प्रजातान्त्रिक) क्रान्ति भनियो । चीनको परिस्थितिसँग मिल्दोजुल्दो अवस्था भएकाले नेपालमा चलेको १० वर्षे जनयुद्ध पनि नौलो जनवादी क्रान्ति भनियो । त्यसैले हाम्रो राजनीतिमा जनवादको कुरा आयो र हाम्रो लेखनको मुल विषय जनवादको प्राप्ति हुन गयो । जनवाद भनेको जनताको हक अधिकार प्राप्ति विषय हो । आजसम्मको हाम्रो लडाइँ जनवादमै केन्द्रित भयो र हाम्रो प्रगतिवादी लेखनको मुल धार पनि जनवादमै केन्द्रित भयो । सामन्तवादबाट पूँजीवादी युगतर्फको यात्राका अवधिमा लेखिने प्रगतिवादी लेखन भनेकै जनवादी अर्थात् जनताको राजनीतिक अधिकारको विषय बन्नु स्वाभाविक थियो । तर अब सामन्तवादका अवशेष त छन् र अबको मुल चरित्र भनेको पूँजीवाद हो । त्यसैले अबको लेखन पुँजीवाद विरोधी लेखन हुनेछ ।
प्रगतिवादलाई नै अर्को शब्दमा समाजवादी यथार्थवाद भनिन्छ । माक्र्सवादी लेखनको सुरुआत फ्रान्स, जर्मन, रुस हुँदै विकास भएको हो र त्यसको जन्म पूँजीवादी लेखनको विरोधमा भएको हो । हामी भने भर्खरभर्खर सामन्तवादबाट पूँजीवादतिर जाँदैछौँ । सामन्तवाद रहँदासम्म पूँजीवाद हाम्रा लागि प्रगतिशील थियो र त्यसको विरुद्धमा लेख्दैनथ्यौँ । अब, पूँजीवादले हाम्रो भलो गर्दैन र हामी समाजवादतिर जानै पर्छ । त्यसैले अब हामीलाई समाजवादी लेखनको आवश्यकता परेको हो ।
समाजवादी लेखन भनेको प्रगतिवादी लेखन कै अर्को नाम हो । समाजवादी लेखन हामीकहाँ नौलो जस्तो लागेको हो तर युरोप अमेरिका जस्ता पूँजीवादी देशमा १९औँ शताब्दीमै यो लेखन सुरु भइसकेको हो । त्यसैले समाजवादी लेखन हामीकहाँ मात्र नौलो हो । हामीले आजसम्म लेख्दै आएको लेखन सामन्तवादबाट जनवादी अधिकारका लागि हुने गरेको थियो । अब हामीले पूँजीवादी शोषण उत्पीडनका विरुद्ध लेख्नु र समाजवादको प्राप्तिका लेख्नु नै समाजवादी लेखन हो ।
समाजमा रहेका सबै प्रकारका विभेद, अन्याय, अत्याचार, शोषण, उत्पीडनको विरोध गर्दै समानता, सहअस्तित्व र सबैको आत्मसम्मानको रक्षा होस् भन्ने भाव ÷सार भएको लेखन नै समाजवादी लेखन हो । सबै खाले विभेदको अन्त्य होस्, अन्याय नहोस् र सबै मानिसको सहअस्तित्व कायम होस् र समयानुकूल अगाडि जान सकियोस भन्ने सार÷भाव भएको लेखन नै समाजवादी लेखन हो । त्यसैले अहिलेका सर्जकहरू जो जो परिवर्तन र मुक्तिको उद्घोष गरिररहेका छन्, ती समाजवादी हुन् । त्यस्ता कृति समाजवादी कृति हुन् । जो परिवर्तनलाई आत्मसात् गर्न चाहँदैनन्, जो घुमिफिरी यथास्थिति अझ हिजोका व्यवस्था, हिजोका शासन प्रणाली, हिजोका आर्थिक प्रणाली र अहिलेको पूँजीवादी, उपभोक्तावादी व्यवस्थाको पक्षपोषण गर्छन्, ती समाजवादी होइनन् । त्यसैले अबको लेखनलाई समाजवादी र गैर समाजवादी गरेर २ धारमा वर्गीकरण गर्न सकिन्छ ।
समाजवादी विचारले सबै खाले उत्पीडन, सबै खाले बन्धनबाट मुक्त भएको मानवहरूको समाजको परिकल्पन गर्छ । सबै खालै विभेद, अन्याय, शोषण र अन्धविश्वासबाट मुक्त भएको उन्नत संस्कृतिलाई समाजवादी संस्कृति भनिन्छ । हामीले चाहेको त्यस प्रकारको समाज र संस्कृतिको निर्माणका लागि अहिलेको समाज र अहिलेको संस्कृतिलाई रूपान्तरण गर्नै पर्छ । अहिलेका हाम्रा आचार, व्यवहार, सोचाइ र सिर्जन प्रक्रियामा रूपान्तरण गरेर मात्र हामी समाजवादी समाज र समाजवादी संस्कृतिको निर्माण गर्न सक्छौँ । समाजवादी लेखनले यस प्रकारका लेखनको अपेक्षा गर्छ । सामाजिक परिवर्तन र सांस्कृतिक रूपान्तरणमा समाजवादी लेखनको महत्त्वपूर्ण भूमिका हुन्छ । हामीलाई थाहा छ, आजभन्दा २७, २८ सय वर्षअघि वाल्मीकिले लेखेको रामायणको कथाले आज पनि नेपाल र भारतका धेरै मानिसको सोच्ने, बुझ्ने तरिकालाई निर्देशित गरिराखेको छ । श्रीमद्भागवत, स्वस्थानी र तिजका कथाहरूले लाखौँ मानिसलाई एउटा बाटोमा एको¥याइरहेको छ । ऋषिमुनिहरूले रचेका भजनमा लठ्ठिएर आफ्नो दिनचर्यालाई त्यही अनुरूप चलाइरहेका छन् । त्यस्तै गोर्की, लुसुन आदिका रचना पढेर लाखौँ मानिस कम्युनिस्ट भएका छन् । यसैले समाजवादी लेखनले समाज परिवर्तन र सांस्कृतिक रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने देखिन्छ ।
नेपाली साहित्यको अहिलेको मुल धार भनेको आलोचनात्मक यथार्थवादी धारा हो । आलोचनात्मक यथार्थवाद भनेको यथास्थितिप्रतिको असन्तुष्टि हो । अहिले जे छ, त्यसमा असन्तुष्टि हुँदा आलोचनात्मक यथार्थवाद हुन्छ । त्यो असन्तुष्टिका बिचबाट भोलिको गन्तव्यको खोजीगर्न थालेपछि समाजवादी यथार्थवादमा पुगिन्छ । अहिले नराम्रो छ, त्यो नराम्रोलाई यसरी राम्रोमा बदल्न सकिन्छ भन्ने समाधानसहितको यथार्थलाई समाजवादी यथार्थवाद भनिन्छ । त्यसैले अबको लेखनको मुल धार समाजवादी यथार्थवाद वा प्रगतिवाद हुनेछ । अहिले उत्तर आधुनिकतावादले टाउको उठाउँदै गरेको छ । सन् १९६० पछि विकास भएको एउटा चिन्तनको नाम उत्तर आधुनिकतावाद हो । उत्तर आधुनिकतावादले पूँजीवादी अर्थतन्त्र र उपभोक्तावादी संस्कृतिलाई प्रश्रय दिन्छ । त्यसैले अबको लेखनमा एकातिर उत्तरआधुनिकतावाद र अर्का्तिर समाजवादी यथार्थवाद दुई धार हुनेछन् । उत्तरआधुनिकतावाद धनीमानी राष्ट्र, धनीमानी मान्छेका हितमा छ । शोषित पीडित र आम श्रमजीवीका पक्षको लेखन भनेको समाजवादी लेखन हो ।
समाजवादी लेखनका नाममा अर्ती, उपदेश छाँट्ने, सिद्धान्तको भारी बोकाउने र लेखनलाई एउटा ढर्रामा, एउटा सुत्रमा प्रस्तुत गर्ने प्रचलन पाइन्छ । त्यस्तो ढाँचा ढर्राको लेखनले अबका पाठकलाई तान्न सक्तैन । हिजो प्रविधिको विकास भएको थिएन, मनोरञ्जनका अन्य साधनहरू थिएनन् र जस्तोतस्तो साहित्यले पनि पाठक पाउने युग हुँदा त हामीकहाँ साहित्य पढ्ने संस्कृतिको खासै विकास हुन सकेन । अब त पाठकका लागि पढ्ने सामग्री जति पनि छन् । इन्टरनेटका कारण संसारका जुनसुकै भाषाका साहित्य पनि पढ्न सक्ने स्थिति भएको छ । त्यसैले अबको साहित्य पठनीय हुन आवश्यक छ । अब साहित्य लेखन कोठामा बसेर कोरा कल्पना गरेर अथवा आफ्ना कुरा लादेर हुँदैन । अबको साहित्यले हाम्रो यथार्थ, हाम्रो मौलिक पहिचान र सुन्दर भविष्यको चित्र खिच्न आवश्यक छ । त्यस्तो सुन्दर भविष्य भनको समाजवादी भविष्य हो ।
लेखक पाटन संयुक्त क्याम्पसका उपप्राध्यापक हुन् ।
प्रतिक्रिया