काव्य–सुधामा चार उत्कृष्ट युवा कविहरू !

solu-mamamaसोलकोरिया, ४ पुस । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोरियाले नयाँवर्षको उपलक्ष्यमा बृहत् कविता वाचन कार्यक्रम गर्ने भएको छ । ‘काव्य–सुधा’ मा अनेसास कोरियाले प्रवासमा रहेका उत्कृष्ट स्रष्टाहरूको रचना वाचन गर्ने कार्यक्रमको तयारी गरेको छ । कार्यक्रमको पहिलो सेसनमा उत्कृष्ट कविहरूको कविता वाचन र दोस्रो सेसनमा उपस्थित कविहरूको रचना वाचन राखिने अनेसास कोरियाले जनाएको छ ।

सो अवसरमा चर्चित कविहरू बोनम प्रताप, जीवन खत्री, यल्जी विवश र प्रमोद सारंगले आफ्ना उत्कृष्ट लामा कविताहरू वाचन गर्नुहुनेछ । कविताबाट सुरु हुने सो कार्यक्रम अनेसास कोरियाको ‘काव्य–सुधा’अन्तर्गत पहिलो शृंखला हुनेछ । आगामी शृंखलाहरूमा साहित्यका अन्य विधाअन्तर्गत, गजल, मुक्तक, हाइकू आदि पनि समेट्दै जाने कुरा अनेसासले जनाएको छ ।

कोरियामा पहिलोपटक हुन लागेको यस एैतिहासिक कार्यक्रममा आयोजकले कवितामा उत्रिएका ती उत्कृष्ट कविहरूलाई अनेसास कोरिया कविता पुरस्कार– २०१६ प्रदान गर्नेछ । सो अवसरमा अनेसासबाट जीवन खत्री, सहदेव भट्ट, विदुर शर्मा, कल्पना धरती र विनोद सायुधलाई अनेसास कोरिया सम्मान प्रदान गरिने अनेसासका अध्यक्ष कृश गुल्मेली बाबुले बताए ।

नेपाली साहित्यिक संस्थाहरूमा विश्वव्यापी लोकप्रियता हासिल गरेको अनेसासको कोरिया च्याप्टर पछिल्लो समयमा धेरै सक्रिय हुँदै गएको छ र नवीन सोचका कामहरू गर्दै आइरहेको छ । अनेसास कोरियाले विगतका दिनहरूमा भानु जयन्ती, देवकोटा जयन्ती, श्रष्टा–कलाकार सम्मान र हरेक नयाँवर्षमा बृहत् कवि गोष्ठी आदि कार्यक्रमहरू गर्दै आएको छ । अनेसास कोरियाले यसपालिदेखि भने शंखलाबद्ध काव्य–सुधामा रचना वाचनको नयाँ थालनी गर्न लागेको हो ।

प्रतिक्रिया