काठमाडौं, २७ मंसिर । नेपाल ललितकला पत्रकार समाजले ‘सोफाज ललितकला पत्रकारिता विशेष सम्मान’बाट राससका वरिष्ठ कार्यकारी सम्पादक श्याम रिमाललाई सम्मान गरेको छ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी कुलपति रागिनी उपाध्यायले उनलाई सम्मान पत्र दोसल्ला ओडाएर सम्मान गरेका हुन् ।
यस्तै समाजले नारायणबहादुर सिंह स्मृति ललितकला पत्रकारिता पुरस्कारबाट चाँदनी हमाल नागरिक दैनिक र सेवा भट्टराई बिबिसी नेपाली सेवा र सोफाज–सिद्धार्थ ललितकला पत्रकारिता पुरस्कारबाट अन्जली रम्तेल रासस प्रदान गरिएको छ । सम्मानित तथा पुरस्कृत ४ जना पत्रकारलाई पुरस्कारस्वरूप जनही ११ हजार १ सय ११ रुपैयाँसहित ताम्रपत्र प्रदान गरिएको हो ।
उक्त कार्यक्रममा सञ्चारमन्त्री कार्कीले कला समीक्षकले कलाकारहरूलाई उनीहरूको सिर्जनाबारे सही ढंगले समीक्षा गर्दै प्रभावशाली कलाकृति रचना प्रेरित गर्नुपर्ने बताए । कला पत्रकारहरूले कलाको विकास र विस्तारसँगै कलाकारलाई अघि बढाउने काम गर्ने पनि मन्त्री कार्कीले बताए । पत्रकारिता असाध्यै गम्भीर विषय रहेकोले यो विषयमा कलम चलाउँदा गम्भीर हुनुपर्नेमन्त्री कार्कीले बताउँदै भने, ‘कला साहित्यले मानिसलाई जहिले पनि उत्प्रेरित गर्ने भएकाले कला साहित्यमा छुट्टै प्रकारको शक्ति हुन्छ ।’
ललितकला पत्रकार र कलाकारलाई सरकारले अझै उचित अवसर दिन नसकेको सम्मानित पत्रकार श्याम रिमालले बताए । रिमालले भने, ‘पुरस्कार र सम्मानले ललितकला पत्रकारलाई यो पेसामा अघि बढ्ने ऊर्जा मिल्छ ।’
यसवर्ष फरक शैलीमा ललितकला पत्रकारिता गरेका उत्कृष्ट ३ पत्रकारलाई आफू र आफ्नो समितिले पुरस्कारका लागि छनोट गरेको पुरस्कार छनोट समितिका संयोजक पत्रकार टंक उप्रेतीले बताए । नेपालमा ललितकला पत्रकारितालाई व्यवस्थित ढंगले सुरुगर्ने काम नारायणबहादुर सिंहले गरेको चर्चा गर्दै कलाकार तथा समीक्षक रमेश खनालले भने, ‘सिंहले अघि बढाएको ललितकला पत्रकारितालाई अँगालेका ललितकला पत्रकारलाई सिंहकै नामबाट पुरस्कृत गर्ने परम्पराको थालनी सराहनीय छ ।’ नेपाल ललितकला पत्रकार समाज (सोफाज नेपाल) का अध्यक्ष केशवराज खनालले ललितकला पत्रकारितामा लागेका पत्रकारलाई प्रोत्साहन र हौसला प्रदान गर्ने उद्देश्यले गतवर्षदेखि ललितकला पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको बताए ।
नारायणबहादुर सिंह कलाकार, कलाका विद्यार्थी र कला पत्रकारहरूका लागि नौलो नाम होइन । नेपाली पत्रकारिता जगतमा कला पत्रकारिता, कलालेखन र कला समीक्षाका क्षेत्रमा सिंहको नाम अग्रपंक्तिमा आउँछ ।
१९८७ फागुन २४ गतेका दिन काठमाडौंको ठमेलमा जन्मिएका सिंहले आफ्नो औपचारिक शिक्षा काठमाडांै, बारा हुँदै भारतको बनारसबाट बिएसम्मको अध्ययन गरेका थिए । ०१० सालमा नेपाल आएका सिंहले सुरुमा इलाममा अध्यापनको काम गरे । ०१५ बाट गोरखापत्रमा आवद्ध भए । कलामा सानैदेखि रुचि राख्ने सिंहका दाजु कर्णमान सिंहले कलाकै अध्ययन गरेकाले उनलाई अझ बढी जान्ने बुझ्ने अवसर प्राप्त भएको थियो । गोपमा रहेर उनले कला र कलाकारलाई मात्र उठाउने काम गर्नु भएन अपितु विभिन्न संस्थाका सल्लाहकारका रूपमा रही आवश्यक मार्गनिर्देशसमेत गरेका थिए । सिंहका ‘नेपाली चित्रकार–२०२७, कला एक अनुभूति–२०३२, समसामयिक चित्रकलाको इतिहास–२०३३, शृंखलाहीन शृंखलालगायत पुस्तक प्रकाशित छन् । सिंहको ०४४ साल भदौ २ गते निधन भएको थियो ।
प्रतिक्रिया