काठमाडौं, २५ मंसिर । नेपाली कलाकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय कलाकार रुद्रप्रसाद (आरपी) भट्टराईको निधन भएको छ । ४ दिन अगाडि उनी काठमाडौंबाट आफ्नो घर विराटनगर गएका थिए ।
बिहीबार बेलुकी फुपूको घरमा गएका आरपी बिहान मृत अवस्थामा भेटिएका थिए । हास्य कलाकार दीपकराज गिरीले भने, ‘मलाई बिहान ८ बजे फोन आयो । बेलुकी खाना खाएर सुतेका आरपी बिहान मृत भेटिएको खबर उनको फुपूको परिवारले दिएको छ ।’ ४२ वर्षका आरपी प्रेसर र सुगर रोगबाट पीडित थिए । उनी आफ्नो मोटो शरीरका कारण चिन्तित थिए ।
पछिल्लो समय उनले अभिनय गरेको चलचित्र ‘छक्का पन्जा’ अहिले हलमा चलिरहेको छ । उनले चलचित्र ‘वडा नम्बर ६’लगायत केहि सफल चलचित्रमा काम गरेका छन् । हास्य सिरियल ‘तीतो सत्य’मा काम गरेपछि उनको चर्चा चुलिएको थियो । यहि, सिरियलबाट उनलाई ‘राजालाम’ उपनामले दर्शकले चिन्ने गर्थे । उनको श्रीमती र २ छोरा छन् । उनले केहिसमय अगाडि आफ्नै आवाजमा एल्बम पनि सार्वजनिक गरेका थिए । उनको आवाजमा समावेश ‘कालो रैछु म पनि’ बोलको गीतको भिडियो केही हप्ता अगाडि मात्र युटुबमा सार्वजनिक भएको थियो ।
प्रतिक्रिया