अस्ट्रियाली राष्ट्रपति पदका लागि निर्वाचन

भियना, २० मंसिर । पश्चिम युरोपभित्रको सानो राष्ट्र अस्ट्रियामा राष्ट्रपति पदका लागि आइतबार निर्वाचन हुँदै छ । मुख्यतः २ जना उम्मेदवार – दक्षिणपन्थी लोकप्रिय खेमाका र वामपन्थी पट्टी झुकावरहेका पूर्वराजनीतिक व्यक्तित्वबीच प्रतिस्पर्धा भइरहेको यस निर्वाचनमा अस्ट्रियाली मतदाताहरूले कसलाई चयन गर्ने हुन् मोटामोटी परिणाम चाहिँ आइतबार राती अबेरसम्ममा निश्चित भइसक्ने जनाइएको छ ।

अस्ट्रियामा राज्यशक्तिको सम्पूर्ण अधिकार प्रधानमन्त्रीमा निहित रहने हुँदा राष्ट्रपतिको पद अनुष्ठानिक वा आस्थाको केन्द्र (सेरेमोनियल)को रूपमा मात्र लिइने गरेको छ । तर, युरोपेली संघका अन्य मुलुकहरूमा निकट भविष्यमै हुन गइरहेका आमनिर्वाचनमा दक्षिणपन्थी लोकप्रिय खेमाका उम्मेदवारहरूको भविष्य आँकलन गर्ने कडीको रूपमा यस निर्वाचनलाई लिइएकाले समग्र युरोपका राजनीतिज्ञहरूले उत्सुकतावश आँखा लगाएका छन् ।

दक्षिणपन्थी लोकप्रिय खेमा ग्रिन्स पार्टीका पूर्वनेता अलेक्ज्यान्डर भ्यान डर बेलेन र युरोपमा शरणार्थी वा आप्रवासीलाई प्रदान गरिने सहुलियतको विरोधकर्ता एव युरोपेली संघकै विरोधी फ्रिडम पार्टीका लोकप्रिय नेता नोर्बर्ट होफरकाबीच हुन गइरहेको प्रतिस्पर्धामा अस्ट्रियाका बहुसंख्यक जनताहरूले ग्रिन्स पार्टीका अलेक्ज्यान्डरले फ्रिडम पार्टीका होफरलाई विजयी हुन नदिउन् भन्ने चाहना राखेका जनाइएको छ ।

स्थानीय समयानुसार बिहान ७ बजेदेखि नै धेरैजसो मतदान केन्द्रहरू खुलिसकेका छन् र मतदान गरिसक्नुपर्ने अन्तिम समय बेलुका ५ बजेसम्म तोकिएको छ ।

मतदानको प्रारम्भिक परिणाम राती अबेरसम्ममा बाहिर आउने अनुमान गरिएको तथा खस्न बाँकी रहेका मतपत्रहरू (एब्सेन्टी ब्यालट्स) को हरहिसाब र खसेका मतपत्रहरूको पूर्ण गणनापश्चात् सोमबारसम्म औपचारिक घोषणा हुने जनाइएको छ ।

प्रतिक्रिया