क्यास्ट्रोको जीवनबाट नेपालीले लिनुपर्ने शिक्षा

यही शुक्रबार दक्षिण अमेरिकी राष्ट्र क्युबाका महान् क्रान्तिकारी नेता फिडेल क्यास्ट्रोको ९० वर्षको उमेरमा निधन भयो । उनको निधनले विश्वभरका मिडियाहरूमा विशेष चर्चा पाइरहेको छ भने सामाजिक सञ्जालका भित्ताहरू उनकै समाचारले रंगिएका छन् । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबाहेक अन्य देशका राष्ट्रप्रमुखले उनको निधनबाट दुःखी भएको विचारहरू अभिव्यक्त गरे । प्रधानमन्त्री र राष्ट्रपति गरेर झन्डै ५० वर्ष क्युबाको राजनीति समालेका उनको निधनले विश्वका एक जीवित कम्युनिस्ट हस्ती अस्ताएका छन् । क्युबा सरकारले ९ दिनको शोक मनाइरहेको छ भने विश्व राजनीतिले एक प्रखर र पृथकशैलीका अगुवा गुमाएको छ । उनको लामो राजनीतिक जीवन र व्यक्तित्व सारा विश्वका लागि एउटा अध्ययन र विश्लेषणको पुस्तकजस्तो बनेको छ ।

विशेषगरी सन् १९१७ मा भएको अक्टोबर क्रान्तिसँगै रुसमा कम्युनिस्ट साम्यवादी व्यवस्थाको स्थापना भयो । रुसको त्यही बाटोलाई पछ्याउँदै जर्मनी, कोरिया, कयौँ युरोपियन देशहरू, चीन, दक्षिण अमेरिकी देशहरूलगायत विश्वका धेरै देशहरूमा कम्युनिस्ट सत्ताको स्थापना भयो । जनक्रान्तिमार्फत सत्ता कब्जा गर्नु नै कम्युनिस्ट पार्टीको मुख्य ध्येय थियो । रुसमा कम्युनिस्ट सत्ताको स्थापनासँगै विश्वका शक्तिशाली देशहरू दुई ध्रुवमा विभक्त भए । कम्युनिस्ट समर्थक देशहरूको नेतृत्व रुस अर्थात् तत्कालीन सोभियत संघले गरेको थियो भने पँुजीवादी देशहरूको नेतृत्व अमेरिकाले गरेको थियो । कम्युनिस्ट अभियन्ताहरू आफूलाई सर्वहारा र मजदुर वर्गको प्रतिनिधि ठान्दथे । कम्युनिस्ट घोषणापत्रसँगै विश्वभर हँसिया र हथौडाको कम्युनिस्ट झन्डा फर्फराउन थालेको थियो । तत्कालीन सोभियत संघ विश्वको सबैभन्दा शक्तिशाली देश बनेको थियो । रुसको छत्रछाया र कम्युनिस्ट व्यवस्थाको प्रचारप्रसारसँगै विश्वभर उदय भएको कम्युनिस्ट व्यवस्था सन् १९८९ मा रुसको सोभियत संघ टुक्रिएर कम्युनिस्ट सत्ता हटेसँगै विश्वभरबाट बिस्तारै खुम्चिँदै जान थाल्यो । कतिपय देशले पुरातनवादी कम्युनिस्ट व्यवस्थालाई सुधार गर्दे निकै खुकुलो नीति अपनाएर जनमुखी कार्यहरूमा आफूलाई केन्द्रित गरे भने कतिपय देश भने पुरानो अधिनायकवादी बाटोमा अगाडि बढे । उत्तर कोरिया अहिले अधिनायकवादी कम्युनिस्ट सत्ताको प्रतिनिधित्व गर्छ भने चीन, क्युबा, बोलिभियाजस्ता केही देशहरूले कम्युनिस्ट पार्टीको शासन सञ्चालन प्रणालीमा व्यापक सुधारको बाटोहरू अपनाए । अहिलेको नयाँ पुस्तालाई कम्युनिस्ट दर्शनका बारेमा पढाउनुपर्दा सधैँ लिइने नाम भनेको चीन र क्युबा नै हो । त्यही क्युबाका राष्ट्रपिता क्यास्ट्रो लेनिन, माक्र्स, एंगेल्स, चे ग्वेभारा कसैलाई नदेख्ने आधुनिक पुस्ताका लागि एउटा उदाहरण बनेर बाँचिरहेका थिए । उनको निधनसँगै कम्युनिस्ट अगुवा वा दक्षिण अमेरिकी क्रान्तिका नायक विश्व राजनीतिक इतिहासबाट सदाका लागि अस्ताएका छन् । अब उनको राजनीतिक दर्शन, त्याग, संघर्ष, योगदानको गाथामात्र हाम्रो माझमा बाँकी छ ।

फिडेल क्यास्ट्रोको जन्म क्युबाको बिरान भन्ने ठाउँको सम्भ्रान्त परिवारमा सन् १९२६ मा भएको थियो । उनी सन् १९४५ मा कानुनको विद्यार्थीका रूपमा हवाना विश्वविद्यालयमा भर्ना भए, त्यसपछि उनको राजनीतिक जीवनको प्रारम्भ भयो । कम्युनिस्ट विचारधारामा आबद्ध भएर राजनीति गरेको अभियोगमा उनलाई तत्कालीन बाटिस्टा सरकारले दुई वर्षसम्म जेलमा राखेको थियो । सन् १९५५ मा जेलमुक्त भएपछि उनी मेक्सिकोमा निर्वा्सित भएका थिए, सोही अवसरमा उनको भेट चे ग्वेभारासँग भएको थियो । भेटको एक वर्षपछि क्यास्ट्रो ८२ जना सशस्त्र दस्ताको नेतृत्व गर्दै पुनः क्युबा फर्किएर चार वर्षको सशस्त्र विद्रोहपछि देशको प्रधानमन्त्री बन्न पुगे । क्युबामा कम्युनिस्ट सत्ताको स्थापना भएसँगै उनीहरूको सम्बन्ध रुससँग निकट बन्न पुग्यो र अमेरिकासँग टाढिन पुग्यो । सन् १९६२ मा उनले क्युबामा रुसले आणविक हतियारहरू भण्डारण गर्न सक्ने अधिकार दिए । सन् १९७६ मा उनी क्युबाको राष्ट्रपति बने, तर सन् १९९० मा रुसमा कम्युनिस्ट सत्ता ढलेसँगै त्यसको असर क्युबामा पनि पर्न गयो । उनीहरूको रुसप्रतिको निर्भरता क्रमश घट्दै जान थाल्यो ।

सुरूवातको चरणभन्दा क्युबाको कम्युनिस्ट व्यवस्थामा केही सुधारका संकेतहरू पछिल्लो समयमा देखिन थालेका छन् । सन् १९९८ मा पोप जोन द्वितीयको क्युबा भ्रमणपछि उनीहरूले धार्मिक रूपमा केही नरम भएको संकेत दिए । बुढ्यौली र बिरामीले थलिएपछि उनले सन् २००८ मा आफ्ना भाइ राहुल क्यास्ट्रोलाई सत्ता सुम्पिए । राहुल परिवारको सदस्य मात्र नभएर उनको राजनीतिक जीवनको सहयात्री र क्रान्तिका सहयोगी पनि थिए । यसै वर्ष अमेरिकी राष्ट्रपति बाराक ओबामाले क्युबाको भ्रमण गरेपछि त झन् क्युबा र अमेरिकाको सम्बन्धले झनै चर्चा पायो । दशकौँदेखि क्युबामाथि नाकाबन्दी र शत्रुतापूर्ण व्यवहार गर्दै आएको अमेरिका अन्ततः आफैँले क्युबासँग सम्बन्धको हात फैलाउन बाध्य बन्यो ।

क्युबाको गुप्तचर निकायको प्रतिवेदनअनुसार विगत ५० वर्षको शासनकालमा अमेरिकाले फिडेल क्यास्ट्रोको हत्या गर्न ६ सयभन्दा बढीपटक प्रयास गरेको थियो । उनका सहयात्री चेलाई अमेरिकाले नै हत्या ग¥यो, तर फिडेल भने सञ्जोगले पटकपटकको प्रयासबाट पनि बच्न सफल भए । अमेरिकाले क्यास्ट्रोलाई सधैँ एक नम्बरको शत्रु मान्दै आएको थियो । विशेषगरी, एकदलीय कम्युनिस्ट सत्ता अमेरिकालाई मन परेको थिएन । अमेरिकाको नजिकको छिमेकीका रूपमा रहेको क्युबालाई अमेरिकाको नाकाबन्दीसँग जुधेर कम्युनिस्ट सत्ता चलाउनु निकै कठिन काम थियो । विश्वलाई थर्काइरहेको अमेरिकाका सामु उनी कहिल्यै डराएनन् । जर्मनमा बर्लिनको पर्खाल ढल्यो, रुसमा कम्युनिस्ट सत्ता ढल्यो तर क्युबामा क्यास्ट्रो सरकारलाई कसैले हल्लाउन सकेन । क्यास्ट्रोले व्यापक लोककल्याणकारी कार्यहरू गरे । स्वास्थ्य र शिक्षामा क्युबामा गरिएको सुधारलाई विश्वभर उदाहरणीय मानिन्छ । स्वयं अमेरिकी युवाहरू नै मेडिकल शिक्षाका लागि क्युबा जान चाहन्छन् । यदि उनले जनताको हकहितका लागि केही राम्रा काम नगरेको भए आज ५० वर्षको शासनसम्म त्यहाँका जनता चुप लागेर बस्ने थिएनन् ।

संयुक्त राष्ट्रसंघको महासभामा उनले दिएको मन्तव्य आजसम्मकै सबैभन्दा लामो हो । उनको भाषणशैली निकै प्रभावशाली रहेको थियो । जतिसुकै लामो किन नहोस्, उनको भाषणमा स्रोताहरूको तालीको गड्गडाहट निरन्तर गुन्जने गर्दथ्यो । सबैभन्दा महत्वपूर्ण कुरा उनले रोजेको सरल जीवनशैली र जनतासँग प्रत्यक्ष गर्ने संवाद नै थियो । उनी जनताका पीरमर्कासँग प्रत्यक्ष साक्षात्कार गर्ने गर्दथे । उनलाई कतिपय प्रजातन्त्रवादी र मानवअधिकारवादी नेताहरूले निर्दयी र कठोर नेता भने पनि उनले लिएको राजनीतिक दर्शन र कार्यशैली विश्वभर नै उदाहरणीय बनेको थियो ।

स्वर्गीय क्यास्ट्रोको राजनीति र व्यक्तित्वबाट नेपालका कम्युनिस्ट नेताहरूले पनि धेरै शिक्षा लिन आवश्यक छ । शताब्दीऔँ अघिदेखि विदेशी हस्तक्षेपबाट मुक्त हुन नसकेको नेपालका लागि क्यास्ट्रोजस्तो निडर नेताको खाँचो रहेको छ । क्यास्ट्रोले अमेरिका तथा कयौँ शक्तिशाली देशको दशकौँअघिको नाकाबन्दीबाट जुधेर आफ्नै स्वाधीन अर्थतन्त्रको निर्माण गर्ने जमर्काे गरे, तर हतियार बोकेर क्यास्ट्रोकै पाइला पछ्याउँदै शान्तिपूर्ण राजनीतिमा होमिएका प्रचण्डलगायत कयौँ माओवादी नेताहरू अहिले पनि सत्ताकै साँघुरो घेरामा रूमल्लिएका छन् । चाहे एमाले होस् वा माओवादी, सत्ताका लागि जुनसुकै विदेशीलाई ढोग्न परे पनि पछि नपर्ने राजनीतिक संस्कारको विकास हुँदै गएको छ । त्यही कारणले अहिले नेपालको आन्तरिक राजनीतिमा भारत पूरै हाबी हुन खोजिरहेको छ । हामी ९० प्रतिशत सभासद्ले हस्ताक्षर गरेर जारी भएको संविधान ठीक छ भनेर भन्न खुट्टा कमाइरहेका छौँ । अहिले कतिपय राजनीतिक संस्कार र सत्ताका लागि गर्ने झगडा हेर्दा पूर्वपञ्चको दल राप्रपा वा पुरानो दल कांग्रेसभन्दा फरक नेपाली कम्युनिस्टहरू देखिन सकेका छैनन् । न त उनीहरूको जीवनशैली सच्चा कम्युनिस्टको जस्तो छ, न त उनीहरूको राजनीतिक संस्कार नै क्रान्तिकारी छ । दशकौँदेखि नेपालमा गाँस, बास, कपास र श्रमजीवी जनताको नारा खुब रन्कियो, कम्युनिस्टहरू पटकपटक सत्तामा पुगे तर देशमा उदाहरणीय कुनै काम हुन सकेन । देशका लागि केही गर्न डराएर खुट्टा कमाउने नेताहरूका निम्ति क्यास्ट्रोको जीवन आफैँमा प्रेरणा दिने पुस्तक बनेको छ । उनका लागि राष्ट्रिय स्वाधीनता र राष्ट्रप्रेमभन्दा ठूलो केही हुन सकेन ।

प्रतिक्रिया