सत्तारुढ दलले सबै पक्षसँग फेरि छलफल गर्ने

काठमाडौं, ११ मंसिर । संविधान संशोधनलगायतका विषयमा सहमति जुटाउनका लागि सत्तारूढ दलले पुनः एकपटक सबै पक्षसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको माओवादी केन्द्र र कांग्रेसबीचको बैठकले सत्तारूढ दल, मधेस केन्द्रित दल र अन्य पक्षसँग पुनः एकपटक औपचारिक तथा अनौपचारिक छलफल गर्ने निष्कर्ष निकालेको हो ।

संविधान संशोधन प्रक्रियामा प्रमुख प्रतिपक्षी दल एमालेले पूर्णतः असहमति जनाएको र मधेस केन्द्रित दलहरूले आन्दोलनको धम्की दिइरहेका बेला सबै पक्षसँग मिलेर नै अगाडि बढ्ने र सकेसम्म धेरैको सहमति जुटाउने प्रयास गर्ने बैठकमा सहमति भएको बताइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सबै पक्षसँग एकसरो छलफल गर्ने तयारी गरेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । कांग्रेस सभापति शेरबहादुर देउवाले पनि एकपटक अनौपचारिक रूपमा मधेसवादी दलसँग छलफल गर्ने र त्यस आधारमा शनिबार थप परामर्श गरेर संविधान संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरिएको बताइएको छ ।

प्रधानमन्त्रीले कानुनी पाटोबाट पनि छलफल गरेको बताइन्छ । प्रेस सल्लाहकार आचार्यले सबै पक्षसँगको छलफलका आधारमा नै सहमतिमा नै संशोधन प्रस्ताव दर्ता गराउने तयारी गरिएको र छलफल सोही दिशामा केन्द्रित रहेको बताए ।

शुक्रबारको बैठकमा प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधी, कृष्णबहादुर महरा, कांग्रेस सभापति शेरबहादुर देउवा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ सहभागी थिए ।

प्रतिक्रिया