“पुरानो डुंगा” हलमा

काठमाडौं, १० मंसिर । प्रदर्शन पूर्व नै निकै चर्चा कमाउन सफल चलचित्र ‘पुरानो डुंगा’को शुक्रबार (आज)बाट देशभरीको हलमा प्रदर्शन हुने भएको छ । यो वर्षकै प्रतिक्षित चलचित्र ‘पुरानो डुंगा’को प्रिमियर काठमाडौंको जय नेपाल हलमा बिहीबार गरिएको छ ।

रामबाबु गुरुङ निर्देशित यो चलचित्रले डुंगा चलाउने दाई र बिग्रिएको भाइको सम्बन्धको कथालाई लिएर बनाइएको छ । बेलायतदेखि भर्खरै नेपाल आएर चलचित्रका मुख्य कलाकार दयाहाङ राई प्रिमियरमा उपस्थित भएका थिए । उनी, बुधबार बेलुकी चलचित्रका निर्देशक रामबाबु गुरुङसँग अस्ट्रेलिया सोका लागि प्रस्थान पनि गरेका थिए ।

प्रिमियरमा नायिका मेनुका प्रधान, कलाकार माओत्से गुरुङलगायतको उपस्थित रहेको थियो । नायिका प्रियंका कार्की भने बेलायतमा नै रहेकाले कार्यक्रममा उपस्थित हुन सकिनन् । प्रियंकाको अभाव महसुस हुन नदिन अन्य नायिकाहरू प्रिमियरमा सहभागी भए ।

नायिकाहरू केकी अधिकारी, वेनिशा हमाल, पूजा शर्मा, वर्षा राउत हलमा देखिए । नायक आर्यन सिग्देल पनि चलचित्र हेर्न पुगेका थिए । साथमा चलचित्रकर्मी, पत्रकारको बाक्लो भीड जय नेपाल हलमा देखिन्थ्यो । चलचित्रले मिश्रित प्रतिक्रिया पाएको छ । कवि तथा लेखक राजन मुकारुङले समग्रमा चलचित्र राम्रो भएको टिप्पणी गरेका छन् । उनले सामाजिक संजालमै लेखेर चलचित्रको प्रशंसा गरेका छन् । उनले ‘पुरानो डुंगा हेर्न गइयो । चलचित्रको समीक्षक हुइनँ । विषय राम्रो छ । कथा बगेकै छ । जोजनहरू मिलेकै छन् । नेपाली चलचित्र भन्नका लागि आधार र तथ्यहरू बलिया छन् हेर्दा ‘खुइय्य’ गर्नुपर्ने अवस्था आउँदैन ।’ लेखेका छन् ।

‘कबड्डी र कबड्डी कबड्डी’को सफल निर्देशन गरिसकेका रामबाबुले यसपटक भने कमेडीभन्दा पनि गम्भीर विषयलाई उठान गरेको बताए । माओत्से गुरुङ र मेनुका प्रधान चलचित्रको मुख्य हाइलाइटमा छन् । ‘नीर जहिले रिसाउने’ गीतका कारण यो चलचित्र चर्चामा छ ।

प्रतिक्रिया