एनिमेसन फिल्ममा मदनकृष्ण श्रेष्ठ

animetoin-film-copyकाठमाडौं, १० मंसिर । १ वर्ष १३ दिन लगाएर नेपालमा पहिलो पटक एनिमेसन फिल्म बनेको छ । दिनको ५ घन्टाभन्दा कम समय सुतेर बनाएको एनिमेसन फिल्मको काम सकिएको संयुक्त श्रेष्ठले जनाकारी दिएका छन् ।

उनले यसलाई सफलता मानेका छन् । उनले भने, ‘हारविना जित हुँदैन । तर, भौतिक रूपमा प्रतिद्वन्द्वी नभए पनि एक्लो विजेता हुन पाइँदो रहेछ ।’ राष्ट्रिय विभूति शंखधर शाख्वाको कथामा नेपालमै पहिलोपटक एनिमेसन फिचर फिल्मको काम सकिएको दिन उनलाई यस्तै अनुभूति भएको छ ।

संयुक्त श्रेष्ठ यस फिल्मका लेखक, एनिमेटर, निर्माता, सम्पादक तथा निर्देशक हुन् । एनिमेसनमा भने भाइ नियुक्त श्रेष्ठ, अञ्जना श्रेष्ठ, विज्ञान प्रजापती र प्रज्वल कक्षपतीले सघाएका छन् । सानैदेखि सुनेको कथा र एनिमेसन पढ्न बेलायत गएपछि नेवारी संस्कृति तथा काठमाडौंको इतिहास अध्ययन क्रममा उनले शंखधर शाख्वामाथि फिल्म बनाउने सपना देखेका थिए ।

एनिमेसन सर्ट फिल्मको अनुभवले उनलाई त्यतिबेला ‘फिचर फिल्म पनि सजिलै गर्न सक्छु’ भन्ने लागेको थियो । बनाउँदै गर्दा आइपर्ने अप्ठ्याराले भने उनको मनमा आफैँप्रति शंका उब्जिन्थ्यो, ‘कतै आफैँलाई गरेको विश्वास आफ्नै लागि त घातक छैन ! मैले बढ्तै आत्मविश्वास पो लिएछु कि ! मैले एनिमेसन फिल्म बनाउँदै छु भनेर अरूलाई भन्नुहुन्थेन कि !’

अर्को मनले भन्थ्यो, ‘मैले भनेर ठिकै गरेको छु । कमसेकम आफैँलाई दबाब त पर्छ ।’ फेरि शंका गर्ने मन भन्थ्यो, ‘गर्नै नसक्ने काममा दबाब परेर के भो र ?’ ‘मैले आफैँले आफैँलाई हराएजस्तो अनुभव भइरहेको छ,’ फिल्मको नेपाल प्रिमियर नजिकिँदै गर्दा संयुक्तले भने, ‘मसँग मेरो ठाउँको, नेपालको पहिलो एनिमेसन फिल्म छ भनेर मात्र होइन, आफैँलाई मन परेको फिल्म बनाएँ भनेर बढी खुसी लागेको छ ।’

प्रतिक्रिया