मापसे गर्ने प्रअलाई राजीनामा

खोटाङ, १० मंसिर । जिल्ला शिक्षा कार्यालय खोटाङले मादक पदार्थ सेवन गरेर विद्यालय आएका सरस्वती मावि अर्खौलेका प्रधानाध्यापक डिकवीर राईलाई राजीनामा गराएको छ । बिहीबार छड्के अनुगमनकाक्रममा प्रअ राई मादकपदार्थ सेवन गरेर विद्यालय आएको पाइएपछि तत्काल राजीनामा मागिएको हो ।

विद्यार्थी संगठनका प्रमुख एवं प्रतिनिधि तथा पत्रकारको टोली लिएर छड्के अनुगमनमा निस्किएका जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले मादकपदार्थ सेवन गरेर विद्यालय आएको फेला परेपछि प्रअलाई कडा शैलीमा राजीनामा मागेका थिए । मादकपदार्थ सेवन गरेर विद्यालयमा आएको अवस्थामा फेला परेका प्रअ राईले आगामी दिनमा गल्ती नदोहो¥याउने शर्तमा जिशिअसमक्ष राजीनामा दिएका हुन् । शर्त विपरीत आगामी दिनमा पनि मादकपदार्थ सेवन गरेर विद्यालयमा आएको पाइएमा राजीनामा स्वीकृत गर्नेगरी राजीनामा मागिएको जिशिअ नेपालले बताए । ‘छड्के जाँचमा पुग्दा प्रअले नै मादकपदार्थ सेवन गरेर विद्यालयमा आएको पाइयो,’ जिशिअ नेपालले भने, ‘प्रअले नै मापसे गरेर आएपछि विद्यालयको अनुशासनको हालत कस्तो होला, त्यही भएर राजीनामा मागिएको हो, पुनः गल्ती दोहोरियो भयो भने राजीनामा स्वीकृत हुन्छ ।’

छड्ने अनुगमन गर्दै अनियमितता गर्ने शिक्षकलाई कारबाही गर्ने अभियान थालेको जिशिअ नेपालले गत मंसिर ६ गते आइतबार मापसे गरेर विद्यालय आएको अवस्थामा फेला परेका नेर्पा–८ रामपुरस्थित जनता निमाविका शिक्षक लक्ष्मीप्रसाद राई र कात्तिक ३० गते सरस्वती आधारभूत प्रावि पोखरीका शिक्षक मीनबहादुर खत्रीलाई पनि राजीनामा गराएका छन् । गल्ती दोहो¥याए दुबै शिक्षकको राजीनामा स्वीकृत गर्ने जिशिअ नेपालले बताए । शिक्षक लक्ष्मीप्रसाद छड्के अनुगमनका क्रममा मापसे गरेको अवस्थामा फेला परेका थिए भने मीनबहादुर अभिभावकले दिएको सूचनाका आधारमा पक्राउ परेका थिए ।

 

प्रतिक्रिया