नायिका लीलाको मोडलिङमा मोह

lilaकाठमाडौं, ९ मंसिर । चलचित्र ‘कुञ्ज’बाट पहिलोपटक डेब्यु गरेकी नायिका लीला राई अहिले धमाधम मोडलिङमा लागेकी छन् । करिब ४ वर्ष अगाडि बनेको चलचित्र ‘कुञ्ज’मा उनले नायिकाको भूमिका पाएकी थिइन् । एसएलसी पास गरेसँगै काठमाडौं छिरेकी लीलाले अभिनय गरेको कुञ्जपछि दोस्रो फिल्म हो ‘आँशु’ । ठूलो पर्दामा देखिएको चलचित्र आँशुमा उनी नायिकाको रूपमा दोस्रोपटक देखिएकी हुन् । काठमाडौंमा च्यारेटी सो भइसकेको उक्त फिल्म राजधानी बाहिरका गाउँहरूमा विशेष प्राथामिकताका साथ प्रदर्शन भएको थियो ।

सोलुखुम्बु जिल्लाको वस्तीवस्तीमा प्रदर्शन भएको उक्त फिल्मपछि नै लीलाको अभिनय यात्राको राम्रै प्रशंसा भएको छ । कलिलो उमेरमा रेखा थापाको अभिनय हेरेर आपूmलाई त्यस क्षेत्रमा लाग्ने प्रेरणा मिलेको बताउने उनलाई पहिलोपटक उर्मिला खालिङको म्युजिक भिडियोमार्फत दर्शकहरूले हेर्न पाएका थिए । अभिनयको तालिम तथा प्रशिक्षणसमेत नलिएको भए पनि अब्बल अभिनय गर्न सिपालु उनले अभिनय भनेको भोगाइ भएको बताउँछिन् । ‘फिल्म तथा भिडियोका कथाहरू सबै भोगाइमा आधारित रहेकाले यसका बारेमा नसिके पनि गर्न सकिने रहेछ’ उनले भनिन्, ‘मलाई त व्यवहारले नै अभिनय सिकाउँछ जस्तो लाग्छ’ ।

सोलुखुम्बुको पावै–३ सेङगेलेममा आमा बाबाको साइली छोरीका रूपमा जन्मेकी उनी आफ्नो परिवारको साथ र सहयोगले यहाँसम्म ल्याएको बताउँछिन् । फुपू तारा खालिङले विशेष प्रेरित गरेको भन्दै उनले सुनाइन् । ‘सुरुमा त कति लाज लाग्थ्यो नी ।’ भर्खरै जिबिहाङ राईको गीतमा मारुनी नाचेको सुनाउँदै उनले ‘अलपत्र’ नामक टेलिसिरियलमा नियमित अभिनय गर्दै आएको जानकारी दिएकी छन् ।
‘केही चलचित्रहरूको अफरसमेत आएको सुनाउँदै उनले भने कथा र क्यारेक्टर राम्रो पाएमा मात्र चलचित्रमा काम गर्छु नत्र गर्दिनँ ।’ केही सटमुभीहरूमा समेत अयिनय गर्दै आएकी उनले निकट भविष्यमै अर्को चलचित्रमा काम गर्न सकिने बताएकी छन् ।

प्रतिक्रिया