काठमाडौं, ९ मंसिर । नेपालकै पहिलो सन्थाल जातिमाथि बनेको चलचित्र ‘बोनोदल’ को ट्रेलर सार्वजनिक गरिएको छ । झापाका युवा फिल्मकर्मी किरण खतिवडाले सीमान्तकृत आदिवासी सन्थाल (सतार) भाषामा चलचित्र बनाएका हुन् ।
‘जन्मदिन’, ‘वचन’लगायत क्षेत्रीय फिल्म र म्युजिक भिडियोमा अभिनय गरेको अनुभव निर्देशक किरणले सन्थाल भाषाको फिल्म ‘बोनोदल’ मा प्रयोग गरेका छन् । वोनोदलको अर्थ परिवर्तन हो । अशिक्षाका कारण लोप हुँदै गएको छ यो समुदाय । त्यसैले सिंगो समुदाय परिवर्तन हुन आवश्यक छ । यही कथालाई निर्देशक खतिवडाले चलचित्रमा प्रस्तुत गरेका छन् ।
सन्थाल समुदायको धर्म, संस्कृति, रीतिरिवाज र रहनसहनबारे अध्ययन गरेपछि मात्रै फिल्म निर्माण सुरु गरेको निर्देशक किरणको भनाइ छ । सन्थाल समुदायमा आफ्नै न्यायालय छ । त्यसलाई माझिहडम भनिन्छ । यो समुदायका तमाम मुद्दाहरू माझिहडमले हेर्छन् र न्याय दिन्छन् यसै कथालाई फिल्ममा समावेश गरिएको छ । चलचित्रमा सुनील हस्दा र कविता बास्केको मुख्य भूमिका रहेको छ । इन्स्पायर प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको यस चलचित्रमा जिया मरहठ्ठाको लगानी रहेको छ ।
प्रतिक्रिया