‘तपन’ र ‘तपसी मन’ संग्रह बजारमा

likheकाठमाडौं, ८ मंसिर । शरद पौडेलद्वारा लिखित २ वटा उपन्यास ‘तपन’ र कवितासंग्रह ‘तपसी मन’को सार्वजनिक गरेका छन् । काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा वामपन्थी नेता स्वनाम साथीले दुवै पुस्तकको एकसाथ विमोचन गरेका हुन् ।

विमोचन कार्यक्रममा बोल्दै नेता स्वनामले नेपाल र विश्वभरिका श्रमजीवीहरूले शासन, शोषण र उत्पीडनबाट मुक्त हुने कुनै बाटो भए र नभएको बारे सोच्ने बेला आइसकेको बताए । ‘यो उपन्यासका लिखे वा लिखतहरूको मुक्तिको बाटो छ कि छैन ?, उनले भने, ‘प्रबुद्ध जनले अब यी प्रश्नबारे सोच्नुपर्नेछ ।’ उनले देशको राजनीतिक, सामाजिक सरोकार र कम्युनिस्ट आन्दोलनका बारेमा आफ्नो मन्तव्य राखेका थिए । उनले देशमा ठूलो संघर्ष, आन्दोलन भएता पनि लिखेजस्ता पात्रले के पाए त ? भन्ने प्रश्न गरेका छन् ।

कवितासंग्रह तपसी मनबारे बोल्दै लेखक तथा चिकित्सक डा. सरोज धितालले पुस्तक दार्शनिक चेतयुक्त रहेको बताए । उनले अन्य विधाका पुस्तकजस्तै एक बसाइँमा हतारिएर पढ्नुभन्दा प्रत्येक श्लोकलाई गहन रूपमा पढ्न पाठकहरूलाई सुझावसमेत दिए ।

उपन्यास ‘तपन’बारे कवि सरिता तिवारी र लेखक खगेन्द्र संग्रौलाले बोलेका थिए । ‘पुस्तकमा दलितसँग जोडिएका थुप्रै प्रसंगहरू गहिरोसँग आएका छन्’ पुस्तकबारे बोल्दै तिवारीले भनिन्, ‘यो पुस्तकको उल्लेखनीय पक्ष हो । ‘तपन’ लेखकको वैचारिक पक्षधरता हो । यसले वामपन्थी आन्दोलनलाई खोतल्ने प्रयास गरेको छ ।

लेखक संग्रौलाले पौडेलकै उपन्यास ‘लिखे’लाई स्मरण गर्दै भने, ‘लिखे उपन्यासको पात्र लिखे नै ‘तपन’ उपन्यासको विकसित, विस्तारित र परिमार्जित रूप हो ।’ संग्रौलाले शरद पौडेलको लेखनबाट प्रभावित भएका पाठकहरूबाट आफूले पनि प्रशंसा पाउने गरेको अनुभव सुनाए । उनले अगाडि थपे, ‘मलाई चिन्ने वा पढ्ने भनेका पाठकहरू भेटिँदा भन्छन्, म तपाईंको फ्यानै हुँ । उनीहरू मेरो छेउमा उभिएर सेल्फी पनि हान्छन् । र, अन्तमा भन्छन्, मलाई तपाईंको ‘लिखे’ उपन्यास खुब मन प¥यो । तर, लिखे लेख्ने उपन्यासकार म नभएर शरदजी हुनुहुन्थ्यो ।’

आफ्नै पुस्तकबारे बोल्दै पौडेलले पुस्तकमा वैचारिक पक्ष हाबी भएको स्वीकार गरे । ‘मसँग निकै सवालहरू छन्’, पौडेलले भने, ‘म सवाल गर्न मन पराउने मान्छे हुँ ।’ लिखे उपन्यासमा रेल चढेर नेपाल आएको लिखेले के ग¥यो त ? भन्ने प्रश्नहरूले ‘तपन’ उपन्यास जन्मिएको उनले बताए । ‘फेरि पनि, लिखे र नम्रताले के गरे त भनेर प्रश्न उठे भने अर्को उपन्यास पनि लेखिएला,’ उनले अगाडिप्रसंग जोडे ।

पौडेलका यी २ नयाँ कृतिसँग ‘लिखे’ उपन्यास पनि पुनःमुद्रणसहित बजारमा आएको छ । तीनै पुस्तकलाई सांग्रिला बुक्सले प्रकाशन गरेको हो ।

प्रतिक्रिया