नुनको कालोबजारी

कपिलवस्तु, २८ कात्तिक । कपिलवस्तुका विभिन्न स्थानमा रहेका थोक तथा खुद्रा ब्यापारीहरूले नुनको अभाव भएको अफवाह फैलाएका छन् । शनिबार बिहानैदेखि तौलिहवा, पकडी, डुमरा, चाकरचौडा, गोरुसिंगे, चन्द्रौटा तथा कृष्णनगरका किराना पसलले नुन लुकाएपछि ५ गुणा बढी मूल्य तिरेर नुन खरिद गर्न उपभोक्ता बाध्य भएका छन् ।

भारतीय सञ्चारमाध्यममा नुनको मूल्य अस्वाभाविक वृद्धि भएको समाचारले नेपालको सीमावर्ती क्षेत्रमा भ्रम फैलिएको हो । २० रूपैयाँ पर्ने एक किलो नुन व्यापारीहरूले १ सय २० देखि २ सय रूपैयाँ भन्दै नुन लुकाएर बेच्न थालेको स्थानीय दीपकबहादुर थापाले बताए । तर, जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जिल्लामा नुन अभाव नभएको बताएको छ ।

जिल्ला पशासन कार्यालय कपिलवस्तुले नुनको कालोबजारी गर्नेलाई कारबाही गर्ने जनाएको छ । नेपाल साल्ट ट्रेडिङ कर्पोरेसन कृष्णनगरका प्रमुख विष्णुप्रसाद श्रेष्ठले नेपालमा एक वर्षसम्म पुग्ने खाने नुन मौज्दात रहेको बताए । हरेक दिन चाहिने सामग्री भएले भ्रम सिर्जना गरेर कालोबजारी गर्न खोजिएको हुन सक्ने उनले बताए । व्यापारीहरूलाई चाहिएजति खाने नुन उपलब्ध गराउने श्रेष्ठले बताए । इलाका प्रहरी कार्यलय पकडीका प्रहरी निरीक्षक इस्माइल अन्सारीका अनुसार नुनको मूल्यमा अनियमितता नहोस् भनेर विभिन्न ठाउँमा अनुगमनसँगै माइकिंङ गरिरहेको बताए ।

प्रतिक्रिया