काठमाडौं, २७ कात्तिक । राजकुमार राई नेतृत्वको चलचित्र निर्माता संघले आर्थिक हिनामिना गरेको भन्दै असन्तुष्ट पक्षले नयाँ निर्माता संघको गठन गरेको छ । निर्माताहरूले नवल खड्काको अध्यक्षतामा चलचित्र निर्माता संघ नेपाल गठन गरेका हुन् । बिहीबार काठमाडौंमा भएको भेलाबाट सर्वसम्मत रूपमा संघको गठन गरिएको हो ।
संघको सहअध्यक्षमा उदय सुब्बा, वरिष्ठ उपाध्यक्षमा लय संग्रौला, उपाध्यक्षमा सुस्मिता केसी र हिक्मत थपलिया सर्वसम्मत चयन भएका छन् भने महासचिवमा विमल पौडेल रहेका छन् । यस्तै सचिवमा मनोज श्रेष्ठ, सहसचिवमा किसन पोख्रेल र सचिवमा कृष्ण चौलागाई चयन भएका छन् । यस्तै सदस्यहरूमा मुनाल घिमिरे, अर्जुन कार्की, मदन कुमार इन्गनाम, गंगाप्रसाद पोखरेल, रामकृष्ण न्यौपाने, निरज ढकाल, भूपेन्द्र लिङदेन (मन्त्री), निर्मल लामा र वीरेन्द्र सिंह रहेका छन् ।
नेपाली चलचित्रमा व्यावसायिक, व्यावसायिक र पारदर्शिता हुनुपर्ने, आदीबासी, जनजाति र मौलिक चलचित्र निर्माण तथा प्रदर्शनमा राज्यले स्थान दिनुपर्नेलगायत एजेन्डाका साथ चलचित्र निर्माता संघ नेपालको गठन गरिएको खड्काले बताए ।
विगतमा चलचित्र क्षेत्रलाई स्थापित गर्न भन्दै विभिन्न संघसंस्था खुलेको भएपछि त्यसले सोचेजति राष्ट्रिय र राष्ट्रियताको पक्षमा काम गर्न नसकेको संघद्वारा जारि विज्ञप्तीमा उल्लेख छ । यसरी निर्माताहरूकै प्रतिस्पर्धी संघ खुलेको यो पहिलोपटक होइन । अशोक शर्मा निर्माता संघको अध्यक्ष भएको बेला राजकुमार राईले राष्ट्रिय चलचित्र निर्माता संघ गठन गरेका थिए भने पछि राईको संघ शर्मा नेतृत्व संघमा विलय भएको थियो ।
अहिले नयाँ संघ खोल्नेहरूले निर्माता संघका अध्यक्ष राजकुमार राईले भवन निर्माण कोषको रकम हिनामिना गरेको आरोप लगाएका छन् ।
प्रतिक्रिया