८ विद्यार्थीका लागि ५ शिक्षक

खोटाङ, २७ कात्तिक । खोटाङ सदरमुकाम दिक्तेलको युवावर्ष प्राथमिक विद्यालयमा ५ जना शिक्षकले ८ जना विद्यार्थी पढाउँछन् । तर, विद्यार्थी नभएर होइन, अभिभावकले नपठाएर । दिक्तेल नगरपालिका–३ स्थित सो विद्यालयमा पहिले थुप्रै विद्यार्थी हुन्थे, पछि विस्तारै घट्दै ८ जनामा सीमित भएको हो । हाल जम्मा ८ जना विद्यार्थीका लागि ४ जना दरबन्दी र १ बालविकास केन्द्रका सहयोगी कार्यकर्ता गरी ५ जना शिक्षक रहेका हुन् ।

बजार जस्तै बाक्लो बस्ती हुनका साथै भौतिक अवस्था अति राम्रो भए पनि राम्रो पठनपाठन नगराएकाले शैक्षिक गुणस्तर र व्यवस्थापन कमजोर भएकै कारण विद्यार्थी संख्या घटेको पाइएको जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले जानकारी दिए । हालै गरिएको विद्यालय अनुगमनका क्रममा प्रधानाध्यापक सोमप्रसाद आचार्य विद्यालयमा नभेटिएकाले धेरै कुरा बुझ्न नसकिएको जिल्ला शिक्षा अधिकारी नेपालको भनाइ छ ।

नेपालका अनुसार भएका ८ जना विद्यार्थीको शैक्षिक अवस्थासमेत कमजोर रहेको पाइएको छ । अभिभावक तथा विद्यालयका सरोकारवालाहरूले भने नजिकै धेरै निजी विद्यालयहरू सञ्चालन भएकाले विद्यार्थी कमी भएको बताउँछन् । तर, जिल्ला शिक्षा कार्यालयको नजरमा शिक्षकहरूले मिहिनेत नगरेरै निजी विद्यालयमा अभिभावकले आफ्नो बच्चाहरूलाई पठाउन बाध्य भएको ठहर गरेका छन् ।

अनुगमनपछि सो विद्यालयमा १ महिनाभित्र विद्यार्थी संख्या नबढाए ३ वटा दरबन्दी कटौती गरी अन्यत्र पठाउने र १ जना मात्र शिक्षक दिने भनी सचेत गराउँदै जिल्ला शिक्षा कार्यालयले पत्राचार गरिसकेको छ ।

०३८ सालमा अन्तर्राष्ट्रिय युवावर्षको अवसर पारेर स्थापना गरिएको विद्यालयमा यही वर्ष मात्र जिल्ला शिक्षा कार्यालयले उपलब्ध गराएको १४ लाखको भवन निर्माण गरिएको छ । घरदैलो अभियान गरेर भए पनि सरकारको लगानी खेर जान नदिन विद्यालय सञ्चालन गराउनुपर्ने स्थानीय जेष्ठ पत्रकार तथा बुद्घिजीवी कृष्ण आचार्यले बताए । बृहत् छलफलबाट व्यवस्थापन तथा शैक्षिक गुणस्तर सुधार गर्दै घरदैलो अभियान गरी विद्यार्थी संख्या बढाउन सकिने आचार्यको भनाइ छ । निजी विद्यालयकै स्तरमा शैक्षिक स्तरोन्नति गरे आफ्ना बच्चाहरूलाई निजी विद्यालयमा पठाउने रहर नभएको अभिभावकहरू बताउँछन् ।

 

प्रतिक्रिया