ट्रम्पलाई ह्वाइट हाउसमा ओबामाको सत्कार

वासिंगटन, २६ कात्तिक । अमेरिकामा नोभेम्बर ८ मा सम्पन्न भएको राष्ट्रपतीय निर्वाचनमा विजयी भएका ह्वाइट हाउसका भावी प्रमुखलाई वर्तमान राष्ट्रपति बाराक ओबामाले आतिथ्य सत्कारका लागि बिहीबार नै बोलाएका छन् । राष्ट्रपतीय निर्वाचनको परिणाम घोषणाको ४८ घन्टापछि शान्त र सहज तरिकाबाट सत्ता हस्तान्तरण गर्ने विषयमा वार्ता पनि गर्न ओबामाले ह्वाइट हाउसको ओभल अफिसमा ट्रम्पको आतिथ्य सत्कार कार्यक्रमको आयोजना गरेका हुन् ।

आगामी जनवरी २० का दिन हुन गइरहेको औपचारिक सत्ता हस्तान्तरण समारोहभन्दा अगाडि निवर्तमान र भावी राष्ट्रपतिका बीच हुन लागेको यो भेटवार्तालाई स्थानीय सञ्चारमाध्यमले अति महत्वका साथ प्रसारण गरिरहेका छन् । अमेरिकी इतिहासमा पहिलो महिला राष्ट्रपति बन्न चाहना राखेकी हिलारी क्लिन्टनलाई पराजित गर्दै अमेरिकी जनताले डोनाल्ड ट्रम्पलाई विजयी गराएकाले विश्व नै चकित परेको छ ।

यता, निर्वाचन परिणाम घोषणा भएपछि क्लिन्टनको हारबाट रुष्ट डेमोक्र्याट समर्थक जनता नवनिवार्चित, ७० वर्षीय राष्ट्रपतिको विरोधमा न्युयोर्कदेखि लसएन्जलससम्मका धेरै शहरमा जुलूस प्रदर्शनका साथै नाराबाजी र ठाउँठाउँमा ट्रम्पको पुतला जलाउँदै आक्रोश पोखिरहेका छन् ।

यसैबीच नवनिवार्चित राष्ट्रपतिले आफ्ना समर्थकको विशालसभालाई सम्बोधन गर्दै विजयको औपचारिक घोषणासँगै आफू सम्पूर्ण अमेरिकी नागरिकका लागि राष्ट्रपति हुने कुरा दोहो¥याएका छन् ।

विरोधी प्रदर्शनका क्रममा पाँच घाइते
सनफ्रान्सिस्को, २५ कात्तिक । अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि भएको विरोध प्रदर्शनका क्रममा पाँच जना घाइते भएका छन् । अमेरिकाको सियाटलमा बुधबार राति भएको आन्दोलनका क्रममा गोली प्राहारमा परी उनीहरु घाइते भएका हुन् ।

स्थानीय समयानुसार बेलुका बुधबार साँझ ७ बजेतिर ट्रम्प विरोधी प्रदर्शनकारीले पाइन र पिके सडकमा प्रदर्शन गरेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । सियाटल प्रहरीका उपप्रमुख रोबर्ट मर्नरले भने गोलीकाण्ड ट्रम्प विरोधी प्रदर्शनभन्दा व्यक्तिगत विवादको कारण भएको जनाएका छन् । घटनास्थलबाट एक जना पक्राउ परेका छन् ।

घाइते भएका पाँच जनामध्ये एक जना महिला र चार जना पुरुष रहेका छन् । उनीहरुलाई अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको सियाटल अग्नी नियन्त्रण विभागले ट्वीटरमार्फत जानकारी दिएको छ । घटनाका बारेमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको र अपराधिले उन्मुक्ति नपाउने अधिकारीले जनाएका छन् ।

 

प्रतिक्रिया