लन्डन, २६ कात्तिक । ऐतिहासिक चिनियाँ बादशाहको एउटा प्राचीन बन्दुक लिलाम गर्दा पच्चीस लाख अमेरिकी डलर उठेको छ । विश्वभरिका पूरातात्विक महत्वका वा अनौठा उत्पादन, सरसामान लिलाम गर्ने प्रख्यात बेलायती कम्पनी ‘सुथबाइज लन्डन’ले उक्त बन्दुक लिलामीमा चढाउँदा अन्तिम बोल, कबोलमा निजी क्षेत्रका एकजना एसियाली पारखीले १९ लाख ८५ हजार बेलायती पाउण्ड (पच्चीस लाख अमेरिकी डलर) खन्याएको सुथबाइजद्वारा प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ ।
चीनमा सर्वप्रथम बनाइएको भनी दावी गरिएको सो बन्दुक प्राचीन समयको आधुनिक हतियार मानिएको थियो । कलात्मक डिजाइनमा बुट्टा कुँदेर बनाइएको उक्त बन्दुकको कुन्दामा चीनका किंगवंशका क्यानलोंग बादशाहको शाही निशाना अंकित छ । चिनियाँ इतिहासमा क्यानलोंग बादशाह पुरातात्विक महत्वका, कलात्मक र अनौठा मालसामानका पारखी, सौखिन र महान संकलक भन्ने गुणले परिचित छन् । सो बन्दुक शाही हतियार कारखानामा उनकै लागि बनाइएको थियो । बन्दुक लिलामीमा दशलाखदेखि पन्ध्रलाख पाउण्डसम्म उठ्ने अड्कल गरिएकोमा बोल, कबोलमा अड्कल गरेभन्दा बढ्तै रकम उठेको छ ।
केही वर्षयता विश्वका विशिष्ट खालका धनाढ्यहरुले चिनियाँ प्राचीन तथा पुरातात्विक सामाग्रीहरुमा निकै रुची राखेको पाइएको छ । यस्ता सरसामान हंगकंग, लन्डन, न्युयोर्क जहाँसुकै लिलाम गरे पनि विशिष्ट ग्राहक आइपुग्छन् र भनेजत्ति खन्याउँछन्, पैसा उठ्न कुनै समस्या नै छैन बताउँछन् सुथबाइज लन्डनका चिनियाँ कलाकृति शाखाका वरिष्ठ निर्देशक रोबर्ट ब्य्राड्लो ।
चिनियाँ राजसंस्थाको इतिहासमा सबभन्दा लामो अवधिः सन् १७३६ देखि १७९५ करिब ५९ वर्षसम्म अविच्छिन्न राज्य गर्ने क्यानलोंग बादशाह (जन्मः सन् १७११, मृत्युः १७९९) लाई त्यतिखेर ‘स्वर्गका अत्यन्त शक्तिशाली पुत्र’ कहलाइन्थे ।
प्रतिक्रिया