वालिङ, २० कात्तिक । पौराणिक महत्वको अन्धाअन्धी दह प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । स्यांजाको चिलाउनेबास गाविस वडा नं ८ र ९ को सिमानामा अवस्थित उक्त दह आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सक्ने प्रशस्त सम्भावना भएर पनि प्रचारप्रसार त्यति छैन ।
‘श्रवणकुमारका नेत्रहीन बाबु र आमाको आँसुबाट बनेको अन्धाअन्धी दहको पूर्वाधार विकासका लागि १ समिति बनाएर अगाडि बढेका छौँ,’ अन्धाअन्धी पूर्वाधार विकास समितिका अध्यक्ष माधवप्रसाद गौतमले भने, ‘यहाँ धेरै भौतिक पूर्वाधार निर्माण गर्न आवश्यक छ, अहिले प्रचारप्रसार गरेर यहाँ आन्तरिक र बाह्य पर्यटक भित्र्याउन विशेष कार्यक्रम सञ्चालन गरेका छौँ ।’
राजा दशरथको वाण लागेर श्रवणकुमारको मृत्यु भएपछि उनका बाबुआमाको आँसुले सो दह बनेको पौराणिक विश्वास गरिन्छ । जिल्ला पर्यटन विकास समितिका पहलमा विनियोजन भएको ७ लाख रुपैयाँबाट दहसम्म पुग्ने बाटो र मन्दिर निर्माण तथा श्रवणकुमारका आमाबाबुको मूर्ति स्थापना गरिएको छ ।
‘दुईतर्फ कडा चट्टानसहितको पहाड छ, बीचमा दह रहेको छ,’ गौतमले भने, ‘ओडारभित्र श्रवणकुमारका आमाबुबाको मूर्ति देखिन्छ ।’ सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जा–पोखरा सडकखण्डको नाउँडाँडाबाट झन्डै १४ किमीको दूरीमा सो दह रहेको छ । सो ठाउँमा विशेषगरी बालाचतुर्दशीका बेला ठूलो मेला लाग्छ ।
प्रतिक्रिया