काठमाडौं, १३ कात्तिक । धुर्मुस–सुन्तली फाउन्डेसनले बनाएको गिरानचौर एकीकृत नमूना बस्ती राष्ट्रपति विद्यादेवी भण्डारी, धुर्मुसका बा, आमा र सुन्तलीका बा, आमाबाट शुक्रबार समुदायलाई हस्तान्तरण गरेका छन् । कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को अगुवामा बनेको एक सामुदायिक भवनसहित ६७ घरको बस्ती भूकम्पपीडित स्थानीयलाई हन्तान्तरण भएको हो ।
कार्यक्रममा सहभागी हुन राष्ट्रपति विद्या भण्डारी हेलिकप्टरबाट बिहान १० बजे गिरान्चौर पुगेकी थिइन् । २३ घर, दुईटा चिल्ड्रेन पार्क, एउटा पार्किङ र दुईटा सार्वजनिक धारा रहेको ब्लक ‘ए’ राष्ट्रपति भण्डारीले समुदायलाई हस्तान्तरण गरिन् । २७ घर, चार चिल्ड्रेन पार्क, दुई सार्वजनिक शौचालय र चार सार्वजनिक धारा रहेको ब्लक ‘बी’ सीतारामका बाआमाले संयुक्त रूपमा समुदायलाई हस्तान्तरण गरे । त्यस्तै १५ घर, खेल मैदान र शीतल ताप्ने चौतारी, एक चिल्ड्रेन पार्क, दुई सार्वजनिक धारा रहेको ‘सी’ ब्लक कुञ्जनाका बाआमाले साँचो समुदायलाई बुझाएर हस्तान्तरण गरेका छन् । हस्तान्तरण कार्यक्रममा भाग लिन मह जोडीसहित विभिन्न कलाकारहरूको समेत सहभागिता रहेको छ ।
कार्यक्रममा फाउन्डेसनले ५ करोड १३ लाख ८५ हजार १ सय ८७ रुपैयाँमा एकीकृत बस्ती निर्माण भएको जानकारी दिएको छ । फाउन्डेसनका अनुसार बस्ती बनाउन जनस्तरबाट ६ करोड १७ लाख १ हजार १ सय ३९ रुपैयाँ संकलन भएको थियो । कुल लागतमध्ये ४ करोड ५२ लाख ४४ हजार २ सय ८७ रुपैयाँ भुक्तानी भइसकेको छ । ६१ लाख ४ हजार ९ सय रुपैयाँ तिर्न बाँकी रहेको जानकारी गराइएको छ । बस्ती हस्तान्तरणसँगै भूकम्पपीडित स्थानीयले यो तिहार आफ्नै घरमा मनाउँदैछन् ।
बस्ती हस्तान्तरण गर्दै कलाकार धुर्मुसले सपना देखेको एक वर्षमै परियोजना सकिएको भन्दै अब जनताले विश्वास गरे देश बनाएर देखाउँने दाबी गरे । ‘जतिबेला दिमागमा सुन्दर बस्ती फिट भइसकेको थियो । त्यतिखेर हामीसँग धेरै चुनौती थिए । आज पूरा भयो । लाग्दैछ कि हामी संसार जित्ने प्रयास गर्दैछौ । हाम्रो भोगाइले भन्छ एकीकृत बस्ती समानताको प्रतिविम्ब हो,’ कार्यक्रममा बोल्दै धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले भने ।
आज समग्र कला क्षेत्रको विजय भएको दिन भन्दै उनले अगाडि भने, ‘यो बस्ती बनाएपछि के बनाउने भन्ने प्रश्न आउन सक्छ यो दिन कला क्षेत्रको विजय भएको दिन हो ।’
प्रतिक्रिया