काठमाडौं, १२ कात्तिक । फिल्म ‘लेटर’ मार्फत फिल्म निर्देशनमा डेब्यु गरेका साम्तेन भुटियाको चौथो निर्देशकीय फिल्म ‘सुस्केरा’ को घोषणा गरिएको २छ । उनका यसअघिका तान्द्रो र अनागत रिलिज हुन बाँकी नै छन् । सशस्त्र द्वन्द्वको कथामा बनेको तान्द्रो बहुप्रतिक्षित छ ।
नेपालीसहित हिन्दी भाषामा समेत बन्ने र एकै मितिमा रिलिज हुने निर्देशक भुटियाले बताए । उनले सुस्केराबाट आफूलाई नयाँ प्रयोगमा ढाल्न खोेजेको भनाइसमेत राखे । ‘म यसलाई आफू सुहाउँदो लभस्टोरी भन्छु,’ उनले भने, ‘लेटरबाट सुरु भएको यात्रामा तान्द्रोमा मौलिकता र अनागतमा थ्रिल देखाउन खोजेँ । सुस्केरामा प्रेमकथा रोजेको छु ।’
आफैँ लेखक रहेका भुटियाले सुस्केराका लागि नयाँ जोडी चुनेका छन् । यसअघि केही फिल्ममा देखिसकिएकी र कल कान्तिपुरकी सञ्चालक सुरक्षा पन्त र नव अभिनेता स्वरूपपुरुष ढकालबीच जोडी बाँधिनेछ । मुम्बईमा अभिनय सिकेका र ‘गुमराह’ नामक हिन्दी टेलिभिजन शृंखलामा अभिनय गरिसकेका ढकाल विशेषतः संगीतमा रुची राख्छन् । सुस्केरामा उनकै संगीत रहनेछ ।
मौरी इन्टरटेन्मेन्टको ब्यानरमा ज्ञानेन्द्र महर्जनको निर्माण रहने फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । फिल्ममा सुजिल कर्माचार्यको पाश्र्व संगीत रहनेछ ।
प्रतिक्रिया