काठमाडौं, १० कात्तिक । पछिल्लो समयमा भिडियोको एक्सन कट गर्ने निर्देशकहरु फिल्ममा एक्सन कट गर्न तम्सिन थालेका छन् । जसका लागि उनीहरुले त्यही विषयमा अध्ययन गर्ने योजनासहित अध्ययनको काम पनि सुरु गरिसकेका छन् । आपूmलाई परिस्कृत किसिमको निर्देशकका रुपमा उभ्याउन युवा म्युजिक भिडियो निर्देशक विधान कार्की फिल्मसम्बन्धी अध्ययन गर्न अमेरिकामा व्यस्त छन् ।
हालसम्म करिब २४ वटा जति म्युजिक भिडियो बनाइसकेका विधानले फिल्मतिर आकर्षिक हुने आफ्नै कारण सुनाए । ‘भविष्यमा फिल्म निर्देशक बन्ने चाहना छ, त्यसैले म्युजिक भिडियोलाई सारथी बनाएको हँु’ फिल्म मेकिङसम्बन्धी चार वर्षे कोष पढिरहेका विधानले भने, ‘त्यसैले अमेरिकामा फिल्म मेकिङ्ग पढ्न आएको छु, निर्देशनसम्बन्धी अनुभवसँगै सम्बन्धित विषयको पढाई हुन जरुरी भएकाले अध्ययनमा जोड दिएको हुँ । भविष्यमा राम्रो फिल्म मेकर बन्ने चाहना छ, जसअनुरुप अहिले अघि बढिरहेको छु ।’
विधानले पहिलोपटक म्युजिक भिडियो निर्देशन गर्दा आपूm सपनातिर अघि बढेको कुरा अनुभव गरेका रहेछन् । उनले निर्माण गरेका भिडियोमा नम्रता काफ्ले खरेलको ‘मै राम्री हँु कि’ र शिव परियारको ‘तिम्रो संसार’ बोलको भिडियो निकै चल्यो । यी दुई भिडियोले उनलाई म्युजिक भिडियो क्षेत्रमा स्थापित निर्देशकका रुपमा चिनायो । उनले प्रमोद खरेल, शिव परियार, शिशिर योगी, संजीवनी, मनोज राज, श्रेयाशी चेम्जोङ्ग, नम्रता काफ्ले खरेल, सुमन गुरुङ, सागर बुढाथोकी, सुजन तिमिल्सिना, राज सागर, मेक्सम खाती, सरिता प्रजापति, अदा थापा, बादल थापा, विवश प्याकुरेललगायतका गायक–गायिकाको म्युजिक भिडियो बनाइसकेका छन् ।
केकी अधिकारी, वर्षा राउत, रन्जन रिजाल, पल शाह र निराजन प्रधानको कामलाई मनपराउने विधान मोडलले थोरै पारिश्रमिक लिएर पनि राम्रो काम गर्न सक्नु नै महत्वपूर्ण भएको बताए । नेपालमा म्युजिक भिडियोको बजार फराकिलो बन्दै गएको बताउँदै उनले नयाँ र राम्रा क्रिएसन भएका भिडियोको बजार उत्कृष्ट रहेको दाबी गरे ।
सञ्चारकर्मीसमेत रहेका विधानसँग टेलिभिजनमा काम गरेको अनुभव छ । त्यही अनुभवले भिडियो निर्माण तिर लागेका उनी मेरो जीवन रहेसम्म सञ्चार क्षेत्रमै रहने बताउँछन् । चर्चित म्युजिक भिडियो निर्देशक आलोक नेम्बाङ्गको कामबाट प्रभावित भएर म्युजिक भिडियोमा आएका विधानलाई निर्देशक विशाल भण्डारीको निर्देशन र हरि हुमागाइँ तथा अर्जुन तिवारीको खिचाई मनपराउँदा रहेछन् । नेपाली सेनाको वृत्तचित्रको समेत निर्माण गरेका विधान नेपालमा रहँदा टेलिभिजनमा कार्यक्रम प्रस्तोतासँगै निर्माता पनि थिए ।
प्रतिक्रिया