राष्ट्रपतिको हातबाट गिरानचौर वस्ती हस्तान्तरण हुने

gकाठमाडौं, १० कात्तिक । हाँस्यकलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ ले निर्माण गरेको सिन्धुपाल्चोकको गिरानचौरको वस्ती राष्ट्रपतिको हातबाट हस्तान्तरण हुने भएको छ । भुइँचालो गएको डेढ वर्ष बितिसक्दा पनि सरकारका तर्फबाट अझै पुनःनिर्माणका कुनै पनि काम सम्पन्न नभइरहेको बेला धुर्मुस–सुन्तलीले भने २ स्थानमा आवास निर्माण सम्पन्न गरिसकेका छन् ।

गत वर्ष सिन्धुपाल्चोकको पहरी वस्तीमा २० वटा घर बनाएका धुर्मुस–सुन्तलीले यसपाली सिन्धुपाल्चोककै गिरानचौर वस्तीमा ६५ वटा घर तयार पारिसकेका छन् । उक्त बस्तीको साँचो आउँदो शुक्रबार राष्ट्रपति विद्या भण्डारीको हातबाट हस्तान्तरण हुने सिताराम कट्टेल धुर्मुसले जानकारी दिएका छन् ।

‘राष्ट्रपतिज्यूले समयको व्यस्तताको बावजुद पनि समय मिलाइदिनुभएकोमा साह्रै खुसी लागेको छ,’ उनले भने, ‘हाम्रो इच्छा त राष्ट्रपति र प्रधानमन्त्री दुवैलाई ल्याउँ भन्ने थियो । तर, प्रधानमन्त्रीको समय मिलेन । यो वस्ती बनाउन सरकारको निकै सहयोग रहेकाले सरकार प्रमुखबाटै समुदायलाई बस्ती हस्तान्तरण होस् भन्ने हाम्रो इच्छा हो । तर, हिजोसम्म भ्याउने–नभ्याउने भन्नेमा निकै अन्योल थियो । बुधबार बिहान कुन्जना र मैले राष्ट्रपतिलाई भेट्यौं । उहाँ हाम्रो निकै ठूलो प्रशंसक हुनुहुँदोरहेछ । गत वर्षको वस्ती निर्माणदेखि देश सरसफाइ अभियानको प्रशंसा गर्दै उनले टेलिभिजनमा आउने विज्ञापनसमेत हेर्न नछुटाउने बताउनुभयो ।’

सामाजिक सन्जालमा धुर्मुस–सुन्तलीलाई कुनै राजनीतिक दलका नेताको हातबाट वस्ती हस्तान्तरण नगराउन कयौं सुझाव आएका थिए । सुझाव दिने सबैप्रति धन्यवाद व्यक्त गर्दै धुर्मुसले देशकै साझा व्यक्तिको हातबाट आफ्नो सपनाको वस्ती हस्तान्तरण हुन लागेकोमा खुसी साटे । ‘प्रधानमन्त्री या राष्ट्रपतिले नभ्याएको खण्डमा भने कलाकारको हातबाट हस्तान्तरण गराउने सोच थियो,’ उनले भने । वस्ती हस्तान्तरणको कार्यक्रम आगामी शुक्रबार बिहानको १० बजे हुनेछ ।

प्रतिक्रिया