उरुग्वेका पूर्वराष्ट्रपतिको निधन

george-battleमोन्टेभिडियो, ९ कात्तिक । उरुग्वेका पूर्वराष्ट्रपति जर्ज ब्याटलको ८८ वर्षको उमेरमा निधन भएको अस्पताल सूत्रले मंगलबार जनाएको छ । उनी २०औँ शताब्दीका उरुग्वेका राजनीतिक हस्तीहरुमध्ये एक प्रमुख पात्रका रुपमा परिचित थिए ।

अक्टोबर महिनाको शुरुतिर आफ्नो राजनीतिक दल कोलो¥याडो पार्टीमा आयोजित एक जमघट कार्यक्रममा सामेल भएका बखत पूर्वराष्ट्रपति ब्याटल एक पटक अकस्मात् लडेर नराम्ररी टाउको बज्रिई बेहोस भएका थिए । उनलाई तत्कालै स्थानीय सानाटोरियो अमेरिकानो अस्पताल भर्ना गरिएको थियो ।

अस्पताल सूत्रले बताएअनुसार टाउको बज्रिएको कारण उनको मस्तिष्कमा अधिक रक्तश्राव भएकोले मस्तिष्कको अपरेसन गरिएको थियो । तर, उनी बाँच्न भने सक्नु भएन । उपचारकै क्रममा उनलाई गत सोमबार अबेर राति मृत घोषित गरियो ।

पूर्वराष्ट्रपति ब्याटल बाह्यपक्षलाई बढी ध्यान दिने ‘बहिर्मुखी’ र ‘मनमोजी’ प्रबृत्तिको व्यक्ति भनी परिचित थिए । उनीबाट पटकपटक राजनीतिक त्रुटिहरु हुने गरेकाले बारम्बार विवादमा तानिए पनि मृत्यु हुनुअघिसम्म राजनीतिक जीवनमा सक्रिय नै रहेका थिए ।

उनले सन् २००० देखि २००५ सम्म मुलुकको राष्ट्रपतिको पदभार सम्हालेका थिए । उनले आफ्नो कार्यकालभरी मुलुकलाई ‘सुखदायी र आनन्दित’ बनाउने दाबी गरेको भए पनि त्यसै बखत राष्ट्र कडा आर्थिक मन्दीको चपेटामा परेको थियो ।

प्रतिक्रिया