याङ्गुन, ९ कात्तिक । म्यानमारले आफ्नो मुलुकका अल्पसङ्ख्यक आदिवासी, जनजातिको अभिलेख राखी अनुसूची तयार पार्ने प्रयोजनले १० वटा विभिन्न अनुसन्धान मूलक परियोजना सञ्चालन गर्ने भएको छ ।
यसका लागि मुलुकका सबै प्रान्त तथा क्षेत्रबाट तथ्याङ्क सङ्कलन एवं अल्पसंख्यक आदिवासी, जनजातिहरुसँग वार्ताको प्रक्रिया पनि थालनी गरिएको छ । यस सरकारी कार्यक्रमले म्यानमारमा कार्यरत अन्तर्राष्ट्रिय संगठनहरुले अल्पसंख्यक आदिवासी, जनजातिहरुका सम्बन्धमा पहिल्यै प्रस्तुत गरेका आँकडा तथा प्रतिबेदनहरुको पनि तुलनात्मक अध्ययन गरी विश्वसनीय तथ्यांक र विस्तृत विवरण प्रकाशन गर्ने श्रम, अध्यागमन तथा जनसंख्या मन्त्रालयका अधिकारीले बताएका छन् ।
म्यानमारको श्रम, अध्यागमन तथा जनसङख्या मन्त्रालयले सन् २०१४ मा प्रकाशित जनगणना तथा घरधुरी र परिवारसंख्या गणना प्रतिवेदनमा आधारित भई एउटा निष्पक्ष अन्तर्राष्ट्रिय संगठनको प्राविधिक सहकार्यमा तुलनात्मक अध्ययन गरी अद्यावधिक निष्कर्ष निकाल्ने बताएको छ ।
कतिपय अन्य राष्ट्रले सञ्चालन गरे जस्तै म्यानमारले पनि अबका प्रत्येक दश वर्षमा राष्ट्रिय जनगणना, घरधुरीसंख्या तथा सोसम्बन्धी अन्य तथ्याङ्कहरु सङ्कलन, अद्यावधिक तथा आधिकारिक प्रकाशन गर्ने छ ।
पछिल्लो समयमा, म्यानमारले तीस वर्षपछि पहिलो पटक, सन् २०१४ को मार्चमा राष्ट्रिय जनगणना, घरधुरीसंख्या र अन्य तथ्यांकहरु संकलन गरी सो वर्षको अगस्टमा आधिकारिक प्रतिवेदन प्रकाशन गरेको थियो । उक्त जनगणनामा, तीनवटा प्रान्तहरुः राखिन, काचिन र कायीनका कतिपय दुर्गमस्थलवासीका अनुमानित संख्या सहित राष्ट्रको कूल जनसंख्या ५ करोड १५ लाख रहेको जनाइएको थियो ।
प्रतिक्रिया