आर्बिल, ८ कात्तिक । अमेरिकी रक्षामन्त्री एस्टोन कार्टर आइतबार इराक अधिनस्थ सहर कुर्दिस्तान पुगेका छन् । उनी इराकको मोसुल सहर पुनः नियन्त्रणको लागि जिहादी समूहविरुद्ध इराक सरकार, कुर्द र अमेरिकाआवद्ध संयुक्त सेनाले जारी राखेको भीषण कारबाहीको निरीक्षणको लागि इराक अधिनस्थ क्षेत्र कुर्दिस्तान पुगेका हुन् ।
कुर्दिस नेता मसुद बर्जानीसँग वार्ता गर्नको लागि पेन्टागनका प्रमुख त्यहाँ पुगेको बताइएको छ । एक हप्ता अगाडिबाट मोसुल सहर पुनः कब्जाको लागि कुर्दिस पेसमेर्गा बलले जिहादीविरुद्ध राखेको उद्देश्य करिब नजिकै पुगेको अमेरिकी अधिकारीले बताएका छन् । मोसुल सरहदेखि बाहिर औसतमा २० किलोमिटर सीमारेखा राखी पेसमेर्गा बलले जिहादी समूहसँग झडप जारी राखेका छन् । सो क्षेत्रहरू इराकमा इस्लामिक स्टेटको बलियो पकड रहेको मानिन्छ ।
शनिबार अमेरिकी रक्षामन्त्री कार्टर इराकको राजधानी बग्दादस्थित वार्तामा व्यस्त भएको अवस्थामा एक अमेरिकी सैनिक अधिकारीले मोसुल पुनः नियन्त्रणको लागि जारी यस झडपमा इराक सरकार, कुर्द र अमेरिकाआवद्ध संयुक्त बलले निकै सफलता पाएको बताएका थिए । इराकको दोस्रो ठूलो सहर मोसुल आइएसको पञ्जाबाट मुक्त गर्न सरकारी बलले लामो समयदेखि तयारी गरे तापनि त्यहाँ अझै पनि १० ंलाख सर्वसाधारण त्यहाँ फसेका हुनाले सावधानीपूर्व कारबाही गरिनु पर्ने पनि ती अधिकारीले जानकारी दिएका छन् ।
त्यसैकारण सावधानीपूर्वक सैन्य कारबाहीको क्रम अघि बढाउनुपर्ने हुँदा यो कारबाही कठिन र लामो समय लाग्ने अनुमान यसअघि नै अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको अनुमान रहेको थियो । आइएसले कब्जा जमाएको अन्तिम शहरलाई मुक्त गर्न निर्णायक युद्धको ‘कठिन् अभियान’ सुरु गरेकाले यस्तो सैनिक कारबाही अलि लामै समयसम्म चल्ने अनुमान गरिएको थियो । त्यहाँका नागरिकलाई कुनै क्षति नपु¥याई इराकी सरकारले पुनः आफ्नो नियन्त्रण लिनुपर्ने स्थिति रहेको छ ।
मोसुल सहरमा आइएसविरुद्ध सैन्य कारबाही सुरु भएको पहिलो दिन नै पेन्टागनका प्रेससचिव पिटर कुुकले इराकी बलले आफ्नो उद्देश्य हासिल गर्न निकै नजिक पुगिसकेको दाबी गरेका थिए । सन् २०१४ को जुन महिनादेखि आतंककारी आइएस समूहले इराकको दोस्रो ठूलो सहर मोसुललाई आफ्नो कब्जामा लिएको थियो ।
प्रतिक्रिया