काठमाडौं, ८ कात्तिक । नेपाली चलचित्र अन्तर्राष्ट्रियकरणका लागि सहयोग गर्न सरकार तयार रहेको परराष्ट्रमन्त्री प्रकाशशरण महतले बताएका छन् । ‘चलचित्र, कला र संस्कृतिलाई संसारभर फैलाउने कार्यमा सहयोग गर्न सरकार तयार छ’, महतले भने ।
राजधानीको याक एन्ड यति होटमा आइतबार आयोजित नवौँ नेफ्टा अवार्डको उत्कृष्ट ५ मा पर्न सफल कलाकर्मीको मनोनयन सार्वजनिक कार्यक्रममा मन्त्री महतले विदेशस्थित नियोग र सांस्कृतिक विभागलाई सक्रिय तुल्याइने बताए ।
त्यस्तै विकास बोर्ड अध्यक्ष राजकुमार राईले अवार्डको व्यावसायिक र सिर्जनशीलपक्षलाई सुधार्नुपर्ने खाँचो औँल्याउँदै चलचित्रको विकास चलचित्रकर्मीको व्यक्तिगत आचरणमा भरपर्ने बताए ।
नवौँ नेफ्टा अवार्ड आगामी पुस ८ गते युएईको दुबईमा आयोजना हुँदै छ । जसमा ३१ विधामा कलाकर्मी परस्कृत हुनेछन् । अवार्डमा ०७२ सालभित्र प्रदर्शनमा आएका चलचित्र सहभागी छन् । कार्यक्रममा अवार्डको तयारी दुबईमा अन्तिम चरणमा पुगेको जानकारी दिइयो । नेफ्टा अध्यक्ष पुष्कर लामाले कलाकारको रिहर्सललगायत आवश्यकतयारी द्रुत गतिमा भइरहेको जानकारी दिए ।
प्रतिक्रिया