साढे ३ अर्ब बढी रकम बाहिरिने

काठमाडौं, ६ कात्तिक । मुलुकको भुक्तानी सन्तुलन (देश भित्रिने र देशबाट बाहिरिने रकमबीचको अन्तर)को अवस्था खराब बन्दै गएको छ । चालू आर्थिक वर्षको भदौ महिनामा ३ अर्ब ५० करोड रुपैयाँले भुक्तानी सन्तुलन अर्थात् शोधनान्तर स्थिति ऋणात्मक छ ।

रेमिट्यान्सको वृद्धिदर घटेपछि भुक्तानी सन्तुलन प्रभावित भएको नेपाल राष्ट्रबैंकले जनाएको छ । जबकि ठीक एकवर्षअघि भदौ महिनामै भुक्तानी सन्तुलन ३१ अर्ब ८८ करोड रुपैयाँले बचतमा थियो । राष्ट्रबैंकले शुक्रबार आर्थिक वर्ष २०७३÷७४को भदौ महिनाको देशको आर्थिक अवस्थताबारे प्रतिवेदन सार्वजनिक गरेको छ । साउन महिनामा भुक्तानी सन्तुलन २ अर्ब १३ करोड रुपैयाँले ऋणात्मक थियो । साउन महिनामा २३ महिनापछि पहिलोपटक मुलुकको भुक्तानी सन्तुलन ऋणात्मक भएको थियो ।

रेमिट्यान्स आप्रवाहको वृद्धिदर घटेको राष्ट्रबैंकको प्रतिवेदनमा उल्लेख छ । राष्ट्रबैंकका अनुसार ०७३ साउनमा ६.६ प्रतिशतले रेमिट्यान्स बढेर १ खर्ब १४ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । त्यसको ठीक एक वर्षअघि अर्थात ०७२ भदौ महिनामा रेमिट्यान्स २७.५ प्रतिशतले बढेको थियो । निर्यात र आयातबीच सन्तुलन मिल्न नसक्दा शोधनान्तर स्थिति ऋणात्मक रहेको हो । भुक्तानी सन्तुलन ऋणात्मक रहे पनि मुलुकको वैदेशिक मुद्रा सञ्चिती बलियो रहेकाले तत्काल आत्तिहाल्नुपर्ने अवस्था भने नरहेको राष्ट्रबैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशशक नरबहादुर थापाले बताए ।

‘आर्थिक वर्षको पहिलो महिना र दोस्रो महिना भुक्तानी सन्तुलन ऋणात्मक भएको छ । यसले मुलुकको अर्थतन्त्र कता जान लागिरहेको छ भन्ने प्रवृत्तिको संकेत गरेको छ ।’ थापाले भने, ‘सरोकारवालाहरु समयमै सचेत नभए यसले अर्थतन्त्रमा गम्भीर दुर्घटना निम्त्याउन सक्छ ।’ वस्तु तथा सेवाको निर्यात वृद्धि र रेमिट्यान्सको वृद्धि नै भुक्तानी सन्तुलनलाई बचतमा राख्ने अचुक उपाय भएको थापाको भनाइ छ ।

०६६ सालमा मुलुकको भुक्तानी सन्तुलन २३ अर्ब रुपैयाँले ऋणात्मक भएको थियो । त्यसलाई सन्तुलनमा ल्याउन राष्ट्र बैंकले सुन, गाडीलगायतका बिलासी वस्तुहरुको आयातमा कडाइ गरेको थियो । त्यस्ता वस्तुको आयातमा भएको कडाइ र रेमिट्यान्स लगातार बढेपछि भुक्तानी सन्तुलनमा सुधार आएको थियो । ०६८ देखि भने भुक्तानी सन्तुलन लगातारजसो घनात्मक रहँदै आएको थियो ।

प्रतिक्रिया