काठमाडौं, ३ कात्तिक । नेपाली फिल्मको विज्ञापन गर्ने नयाँ शैली चलचित्र जात्राले निकालेको छ । कात्तिक २६ गते रिलिज हुने फिल्म ‘जात्रा’ले अहिलेसम्मकै नयाँ अफर सुरु गरेको छ । ‘हजार समाऔं, लाख कमाऔं’ यो अफरअन्र्तगत ‘हिरोसँग भेट, हिरोइन सँग डेट’ अफर पनि सँगै रहेको छ ।
फिल्मको रिलिज दिन नजिकिँदै जाँदा जात्राले ‘हजार समाऔं, लाख कमाऔं’ अफर सार्वजनिक गरेको हो । यो अफरमार्फत फिल्मका दुई अभिनेतासँग ‘भेट’ र दुई अभिनेत्रीसँग ‘डेट’को मौकाका साथै अरु उपहार प्राप्त हुने निर्माण कम्पनीले जनाएको छ ।
यो सुविधा पाउनका लागि सबैभन्दा पहिले जात्राको अफिसियल फेसबुक पेजमा गएर लाइक बटन दबाउनुपर्नेछ । र, पेजमा फिल्मका कलाकार र नेपाली नोट चलिरहेको ‘जिआइएफ’ भेटिनेछ । सेकेन्डभन्दा निकै कम समयमा चलिरहेका यी तस्बिरहरुमध्ये हजारको नोट समातेर स्क्रिनसट लिएर जिआइएफको कमेन्टबक्समा खसाल्नुपर्नेछ । उपहार पाउन यतिले मात्र पुग्दैन, त्यो जिआइएफलाई आफ्नो फेसबुक पेजमा समेत सेयर गर्नुपर्ने नियम बनाइएको छ ।
यी सबै प्रक्रिया पूरा गरेपछि हप्ताको एकजना विजेता घोषित हुनेछन् । जसमध्ये पहिलो र दोस्रो हप्ता क्रमशः अभिनेत्रीद्वय वर्षा राउत र प्रेक्षा बज्राचार्यसँग डेट जाने मौका मिल्नेछ भने तेस्रो हप्ता विपिन कार्की र रवीन्द्रसिंह बानियाँसँगको भेटको मौका पाइनेछ । राजधानी या देशबाहिर रहेर यो सुविधा लिन असहज हुने अवस्थामा फोन या स्काइपबाटसमेत कुरा गर्न सकिने व्यवस्था मिलाइएको फिल्म निर्माता तथा अभिनेता बानियाँले बताए ।
फिल्म रिलिजको दुई दिनअघि राजधानीमा हुने प्रिमियरका दिन हजारको नोट समातेर पोष्ट सेयर गर्ने पाँच बिजेतालाई बम्पर उपहार राखिएको बानियाँको भनाइ छ । उनका भनाइमा पाँचमध्ये एकलाई स्मार्ट फोन, एक जोडीलाई पोखरा र अर्को एक जोडीलाई क्रमशः २ र ३ दिनको टुर प्याकेज राखिएको छ । यस्तै, थप एक जनालाई अभिनेता विपिन कार्कीले इलेक्ट्रोनिक स्कुटर उपहार प्रदान गर्नेछन् भने अन्य ५ जनाले जात्रा हेर्ने टिकट पाउनेछन् । बानियाँका अनुसार फिल्म रिलिज हुनुअघि नै सबै उपहार प्रदान गरिनेछ ।
प्रतिक्रिया