फुटसल लिगमा ढुकु र हरिसिद्धी विजयी

काठमाडौं । नेपालको सर्वाधिक पुरस्कार राशिको ‘रेडबुल फुटसल लिगमा ढुकु फुटसल हब र हरिसिद्धी फुटसल विजयी भएका छन् । सोमबारदेखि पुनः सुचारु भएको लिग फुटसलमा ढुकु र हरिसिद्धीले जित हात पारेका हुन् । लिग खेल बडादसैंको अवधिमा रोकिएका थिए । समूह ‘ए’को खेलमा ढुकु फुटसल हब बालुवाटारले आदर्श फुटसल ढुंगेअड्डालाई ५–२ ले हरायो । ढुकु फुटसलका लागि सबिन केसीले २ गोल गरे भने सुरज राउत, अंसु कार्की र सबिन खड्काले १–१ गोल गरे । आदर्श फुटसलका समीर कार्की र सुरेन्द्र कटवालले १–१ गोल गरेका थिए । एएमए इभेन्ट्सको आयोजनामा जारी रेडबुल फुटसल लिगमा ढुकु फुटसल हबको यो पहिलो जित हो । आदर्श फुटसल ढुंगेअड्डाको यो लगातार दोस्रो हार हो ।

त्यस्तै सोमबारै भएको दोस्रो खेलमा हरिसिद्धी फुटसलले बिजी ब्रदर्सलाई ६–५ ले हराएको छ ।

पेप्सीकोलास्थित बिजी ब्रदर्सको मैदानमा भएको खेलमा पाहुना टोली हरिसिद्धीलाई विजयी गराउन ‘म्यान अफ द म्याच’ लालबहादुर तामाङले ३ गोल गरे । रफिक महर्जन, विकाश महर्जन र निरज मर्हजनले १–१ गोल थपे । जारी लिगमा हसिरिद्धी फुटसलको यो पहिलो जित हो । बिजी ब्रदर्सको लगातार दोस्रो हार हो । यसअघि, पहिलो चरणको खेलमा हरिसिद्धी फुटसललाई सामाखुसी फुटसलले ७–३ ले हराएको थियो । (सौस)

प्रतिक्रिया