काठमाडौं, २१ असोज । अभिनेता दयाहाङ राईकै जन्मदिन पारेर फिल्म ‘घामपानी’ रिलिज हुने भएको छ । दयाहाङको जन्मदिन वैशाख १ हो । त्यसैले फिल्म निर्माण समूहले ०७४ साल वैशाख १ मा ‘घामपानी’ रिलिज गर्ने निर्णय गरेको एक प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
फिल्मका निर्माताहरूले वितरकहरूसँग छलफल गरी बुधबार रिलिज डेटको टुंगो लगाएका हुन् । दर्शक र फिल्म दुवैका लागि राम्रो अवसर भएकाले नयाँवर्ष छानिएको निर्देशक दीपेन्द्र लामाले बताए । जन्मदिनमै पारेर ‘घामपानी’ रिलिज गरिँदा दयाहाङप्रति शुभकामना र सम्मान दुवै हुने भएकाले पनि निर्माताहरूले वैशाख १ लाई रोजेका हुन् । फिल्ममा दयाहाङ फुर्वा तामाङ नामक पात्रको भूमिकामा छन् । त्यस्तै दयाकी जोडी बनेकी केकी अधिकारी भने तारा शर्मा नामक युवतीको भूमिका देखिने छिन् ।
फिल्म समीक्षक तथा रंग पत्रकार दीपेन्द्र लामाको निर्देशकीय डेब्यू ‘घामपानी’को हाल सिन्धुलीका निबुवाटार र सातपत्रे गाउँमा फिल्मको सुटिङ भइरहेको छ । फिल्ममा दयाहाङ र केकीका अलावा यस फिल्ममा अंकित खड्का, सिल्सा जिरेल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, बुद्धि तामाङ, अरुणा कार्की, कविता आले, मणिराम पोखेरल, अमोघ पोखरेल, लक्ष्मी बर्देवा, केशव राई प्रेमवर्षा खड्कालगायतको अभिनय रहेको छ ।
‘घामपानी’ले पनि वैशाख १ लाई रिलिज मिति तोकेसँगै उक्त मितिमा रिलिज हुने नेपाली फिल्मको संख्या ३ पुगेको छ । यसअघि ‘लभ लभ लभ’ तथा ‘राधे’ले पनि वैशाख १ मा आउने घोषणा गरिसकेका छन् ।
प्रतिक्रिया