काठमाडौं, १९ असोज । जिन्दगीभरिलाई सँगै जिउने, सँगै मर्ने कसम खाएर वैवाहिक बन्धनमा बाँधिएका एक युवा जोडीले नयाँ गीतको बजारमा ल्याएका छन् । पेसाले बेलायती गोर्खा सेनामा कार्ययत सञ्जीव राई र शिक्षिका सुस्मा रुपाबुङको संयुक्त प्रयासमा नयाँ म्युजिक भिडियो बजारमा आएको हो । परदेशमा ड्युटी गर्दै साहित्य सिर्जनामा तल्लिन रहेका सञ्जीवले गीत गजल र कविता क्षेत्रमा कलम चलाउँछन् भने एक नेपालमै रहेर अध्यापन पेसासँगै साहित्य सिर्जना र सामाजिक अभियन्ताको रूपमा रुपाबुङ सक्रिय छिन् ।
उनीहरूले परदेशमा र घरदेशमा बसेर शब्दहरूमा खेल्ने क्रममा ‘डियुटी भन्दै डेटिङतिर’ बोलको गीत बनाएका छन् । गीतकारद्वय शुष्मा रुपाबुङ र सञ्जीव राई पारदर्शीको शब्द रचना र परिष्ठ संगीतकार वसन्त सापकोटाको संगीत अनि रेनेसा राई बान्तवाको निर्देशन रहेको यस गीतमा नेपाली सुगम संगीतमा ख्यातिप्राप्त गायक राजेशपायल राई र गायिका मिलन अमात्यको स्वर रहेको छ । म्युजिक भिडियोमा समेत रियल जोडीले रिलमा समेत अभिनय गरेका छन् । विशेष लाहुरे जीवनमा मेल खाने गीत लेखेका उनीहरूको गीत युवापुस्तामाझ निकै लोकप्रिय हुँदै गएको छ ।
प्रतिक्रिया