काठमाडौं, १९ असोज । रंगकर्मी तथा अभिनेत्री सरिता गिरीको फेसबुकमा नीलो रङको पानको पातमुनि ‘इन अ रिलेसनसिप’ देखेपछि सामाजिक सञ्जालमा उनको चर्चा चुलिएको छ । मंगलबार बिहान एकाएक उनको फेसबुक पेजमा पोष्ट गरेपछि चर्चा भएको हो ।
यसो त उनले यसअघि नै दैनिक पत्रिकामा आफ्नो प्रेमको बारेमा सार्वजनिक गरिसकेकी थिइन् । उनलाई फेसबुकमै लेखिहाल्न चाहिँ मन नभएको बताएकी थिइन् । ‘बारम्बार पत्रकारहरुको यस्ता प्रश्न आइरहेपछि लेखेँ’, हाँस्दै सरिताले भनिन्, ‘फेसबुकमै लेखेपछि अब त नसोध्लान् नि ।’ वीरेन्द्र हमालको एम.आर्ट थिएटर हुँदै गुरूकुलकी पहिलो ब्याच सरिता गुरूकुलमा छँदा अभिनेता सौगात मल्लसँग प्रेममा रहेको चर्चा चलेको थियो । बीचमा यो चर्चा यत्तिकै सेलायो । हाल भने अमेरिका बस्दै आएका एक युवकसँग करिब डेढ वर्षदेखि प्रेममा रहेको उनले खुलाएकी छन् ।
‘उहाँ पहिले नाटकमै काम गर्नुहुन्थ्यो,’ सरिताले आफ्नो प्रेमीबारे छोटकरीमा भनिन्, ‘गुरूकुलमा पनि उहाँको नाटक मन्चन भएको थियो र केही छोटा कार्यशाला पनि लिनुभएको थियो। तर, मैले उति ख्याल गरेको थिइनँ । उहाँले भने मलाई १५÷१६ वर्ष पहिल्यैदेखि चिन्नुहुँदो रहेछ ।’ बिहेका लागि दुवैका पारिवारिक पक्ष राजी भइसकेको उनले बताइन् । ‘हामी चाँडै इन्गेजमेन्ट गर्दैछौं र बिहे पनि सम्भवतः यसै वर्ष हुनेछ ।’ हालै ‘बोक्सीको घर’ नाटकमा सोलो अभिनय गरेर प्रशंसा कमाएकी गिरीले गुरूकुल र एम.आर्ट थिएटरबाट दर्जनौँ नाटकमा अभिनय गरेकी छन् । उनले केही फिल्ममा समेत अभिनय गरेकी छन् ।
प्रतिक्रिया