२० वर्षपछि पक्राउ परे मानबहादुर

man-bahadurकाठमाडौं, १८ असोज । चाल्स शोभराज यतिबेला नेपाली जेलका ‘विशिष्ट पाहुना’ हुन् । उनलाई अपराधको दुनियाँमा ‘सिरियल किलर’का नामले चिनिन्छ । दर्जनाँै हत्या र बलात्कारको मुद्दा उनीमाथि छ । उनको मुद्दा फैसला हुनु र त्यसको सजाय भुक्तान हुन नै २०औँ वर्ष लाग्छ । तर, उनलाई पनि बिर्साउने गरी १ नेपाली ‘सिरियल किलर’ फेला परेका छन् ।

पाप गरेपछि कुनै न कुनै बेला धुरीबाट कराउँछ भन्ने नेपाली उखान मानबहादुर बुढाथोकीको हकमा २० वर्षपछि लागू भएको छ । पुराना अपराधिक फाइल पल्टाउने क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बारा डुमरानाका मानबहादुर बुढाथोकीबाट २० वर्षअघि गरेको शृंखलाबद्ध हत्याकाण्ड मात्रै पत्ता लगाएन उनलाई पक्राउ गरेर कानुनी दायरामा समेत ल्याएको छ ।

उनलाई यतिबेला ६ महिलाको हत्या तथा ३२ महिलालाई बलात्कार गरेको अभियोग छ । बुढाथोकी भारतको नयाँ दिल्लीस्थित नोयडामा लुकीछिपी बस्दै आएका थिए । उनलाई भारतीय प्रहरीको सहयोगमा गत असारमा दिल्लीबाटै सिधै काठमाडांै ल्याएर त्यसपछि बारा जिल्ला प्रहरी कार्यालयमा पठाएको छ ।

प्रहरीले एउटा हत्या अनुसन्धानका लागि बयान लिँदा उनले त २ वर्षको अन्तरालमा झन्डै ३१ वटा अपराध आफैँले गरेको दाबी गरे । जुन प्रहरीले थाहा पाएकै थिएन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले एकै प्रकृतिका अपराधिक मुद्दामा एउटै अपराधिक समूह वा व्यक्तिको संलग्नता हुने आशंकासहित सुक्ष्म अनुसन्धान गरेको थियो ।

लामो समयदेखि सो विषयमा अनुसन्धान गरिरहेको सिआइबीले बुढाथोकीको संलग्नताबारे थप अनुसन्धान थालेको थियो । प्रहरीका अनुसार उनले १७ वर्षदेखि ६१ वर्ष सम्मका महिला तथा किशोरीको हत्या र बलात्कार गरेका थिए ।

बुढाथोकीकै बयान अनुसार ०५३ साल ९ असारमा महोत्तरी जिल्लाको बर्दिवासभन्दा पश्चिमतर्फ रहेको जंगलमा गुलाबी रङको फ्रक, नीलो ब्लाउज लगाएकी, २० वर्षीया शारीरिक रूपमा असक्त महिलालाई घाँटी थिची करणी गर्न लार्दा मान्छे आउने डरले दुवै हातले घाँटी थिचेर हत्या गरको थिए । यीलगायत अन्य ३२ वटा सोही प्रकृतिबाट जबर्जस्ती करणीका घटनाहरूमा आफूले अपराध गरेको स्वीकार गरेको सिआइबीले जनाएको छ ।

प्रहरीको नजरमा देखिने धेरैजसो अपराध उनले ०५२ र ०५३ सालमा गरेका थिए । महोत्तरीका घटनामा पटकपटक प्रहरीको आँखा छल्न सफल भए पनि धनुषाको एउटा घटनामा उनी पक्राउ परेका थिए । सो घटनामा जेलसमेत परेका उनी छुटेपछि भारत भागेका थिए । ०६२ सालमा जेलबाट छुटेर उनी भारत गएका हुन् । २ जिल्लाका प्रहरीबीच समन्वय हुन नसक्दा उनी उम्किन सफल भएका थिए । महोत्तरीमा पनि उनीविरुद्ध मुद्दा दर्ता भए पनि जेल प्रशासनले उनलाई छाडिदिएको थियो । स्रोतका अनुसार करिब १० वर्ष जेल बसेपछि उनी भारत भागेका थिए । भारतमा दोस्रो बिहे गरेर बस्दै आएका थिए । उनी सेक्युरिटी गार्डका रूपमा काम गर्थे ।

प्रतिक्रिया