अर्थमा सहसचिवको व्यापक सरुवा

artha-mantralayaकाठमाडौं, १८ असोज । दसैंको मुखमा अर्थ मन्त्रालयमा सहसचिवको व्यापक सरुवा भएको छ । महत्वपूर्ण ३ वटा विभागमा महानिर्देशक यथावत राखेर अर्थमन्त्रालयमा सहसचिवहरूको व्यापक सरुवा गरिएको हो ।

सरकार परिवर्तन भएपछि राणाकालीन पजनी शैलीमा पार्टी निकटलाई अर्थमा भित्राउने र अरू पार्टी नजिक ठानिएकालाई अर्थबाट अन्यत्र सरुवा गर्ने चलन छ । यसक्रममा पार्टीगत रूपमा नखुलेका र व्यावसायिक ठानिने केहीलाई नचलाउने गरिन्छ ।

आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणी शर्मा, भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुंगाना र राजस्व अनुसन्धान विभागका महानिर्देशक निर्मलहरी अधिकारीले सरकार÷मन्त्री फेरिए पनि निरन्तरता पाएका छन । शर्मा र ढुंगाना डा. रामशरण महत अर्थमन्त्री हुँदा महानिर्देशक भएका थिए । शर्मा आन्तरिक राजस्वको महानिर्देशक भएको २ वर्ष नाघिसकेको छ ।

अधिकारीचाहिँ यसअघिका अर्थमन्त्री विष्णु पौडेलका पालामा महानिर्देशक भएका थिए । महानिर्देशक किशोरकुमार कार्की सञ्चार मन्त्रालयमा सरुवा भएका कारण खाली सम्पत्ती शुद्धिकरण अनुसन्धान विभागमा जीवनप्रकाश सिटौला महानिर्देशक भएका छन् । उनलाई हालै सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अर्थमा सरुवा गरेको थियो ।

सरकारले आइतबार गरेको सरुवा अनुसार अर्थको बजेट महाशाखा प्रमुख मधु मरासिनी भएका छन । बजेट महाशाखा अर्थमा सबैभन्दा महत्वपूर्ण मानिन्छ । यसअघिको सरकारले अर्थको आर्थिक सहायता महाशाखाबाट योजना आयोगमा सरुवा गरिएका मरासिनी केहीअघि अर्थमा पुनः प्रवेश गरेका थिए । बजेट महाशाखाका रामशरण पुडासैनी अनुगमन महाशाखा प्रमुखमा सरुवा भएको छ । यसअघिका अर्थसचिव लोकदर्शन रेग्मीको नजिक मानिने मध्येका हरिशरण पुडासैनीको यसअघि नै सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा भइसकेको छ ।

राजस्व महाशाखा प्रमुख लक्ष्मण अर्याल नीति विश्लेषण महाशाखामा सरुवा भएका छन । उनको ठाउँमा आन्तरिक राजस्वका उपमहानिर्देशक विष्णु नेपाललाई ल्याइएको छ । वित्तिय विश्लेषण महाशाखामा आनन्द ढकालको सरुवा भएको छ ।

रामकृष्ण सुवेदीलाई अर्थको कर्मचारी प्रशासन महाशाखामा सरुवा गरिएको छ । आन्तरिक राजस्व १ नम्बर कार्यालय प्रमुख चन्द्रकला पौडेललाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशक बनाइएको छ । मन्त्रालयका धनीराम शर्मापनि उपमहानिर्देशक भएका छन । गजेन्द्र ठाकुर आन्तरिक राजस्व विभागको उपमहानिर्देशक भएका छन् ।

अर्जुन पोखरेललाई राजस्व प्रशासन तालीम केन्द्रको तालीम प्रमुख बनाइएको छ । आन्तरिक राजस्व १ नम्बर कार्यालयमा झलकराम शर्मा, २ सुशील पाण्डे र ३ मा बलराम रिज्याल प्रमुख कर प्रशासक भएका छन् ।

प्रतिक्रिया