दुई स्रष्टालाई छुट्टाछुट्टै पुरस्कार

sssकाठमाडौं, १७ असोज । ‘ऐना’ कथासंग्रहका लागि रामलाल जोशीलाई मदन पुरस्कार र ६० वर्षभन्दा लामो समयदेखि नेपाली भाषा र साहित्यमा योगदान पु¥याएवापत वरिष्ठ साहित्यकार लीलबहादुर क्षेत्रीलाई जगदम्बाश्री पुरकार प्रदान गरिएको छ । आइतबार ललितपुरमा आयोजित समारोहमा दुवै लेखकलाई मदन पुरस्कार गुठीका अध्यक्ष कमलमणि दीक्षितले प्रमाणपत्रसहित २÷२ लाख रूपैयाँ राशिको पुरस्कार प्रदान गरेका हुन् ।

मदन पुरस्कार ०१३ सालदेखि जगदम्बाश्री ०४५ सालदेखि मदन पुरस्कार गुठीले दिइँदै आएको छ । समारोहमा गुठीका अध्यक्ष कमलमणि दीक्षित, साहित्य संगीत र फिल्म समीक्षक प्रकाश सायमी, पुरस्कार विजेताद्वय जोशी र क्षेत्री र गुठीका सदस्यसचिव कुन्द दीक्षितले मन्तव्य राखेका थिए । आफूलाई जगदम्बाश्री दिइएकोमा अत्यन्तै खुसी लागेको बताउँदै क्षेत्रीले लेखन नै आफ्नो जीवन भएको बताए । ‘मान्छेहरू मलाई सोध्छन, तिमी केका लागि लेख्छौ ?,’ भारतको आसममा बसेर साहित्य साधना गर्दै आएका उनले भने, ‘मेरो उत्तर हुन्छ, वास्तवमा म नलेखी बस्नै सक्तिन । बाँच्न सक्तिन । त्यसैले जीवनकै निम्ति लेख्नुपर्ने हुन्छ । आत्मसन्तुष्टीका लागि लेख्छु । अनि त्यसपछिको सन्तुष्टी पाठकको सन्तुष्टीमा भर पर्छ । जब पाठकहरूले मेरो सिर्जनामा जीवनको चित्र, दशा र दिशा फेला पार्छन् । पाठकले पाएको सन्तुष्टी मेरो सन्तुष्टी हुन पुग्छ ।’

त्यस्तै, कथाकार जोशीले मदन पुरस्कार आफूले पाए पनि समग्र कर्णालीले पाएको अनुभूति भइरहेको अनुभव साटे । लीलबहादुर क्षेत्रीको ‘बसाईं’लगायत पुस्तक पढेर साहित्यमा लाग्ने प्रेरणा मिलेको बताउँदै क्षेत्रीसँगै पुरस्कार लिन पाउँदा अत्यन्तै गर्व महसुस भएको बताए । समीक्षक प्रकाश सायमीले सानो छँदा घरको भित्तामा देखेको ‘भाषा म्वासाः जाति म्वाई’ (भाषा बाँचे जाति बाँच्छ) पढेको र बुझ्ने भएपछि भाषाप्रति आत्मीयता बढ्दै गएको बताए । पुरस्कार हस्तान्तरण समारोहमा गुठीका अध्यक्ष दीक्षितद्वारा लिखित कृति ‘गएकाहरू’ सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया