पोखरा, १६ असोज । राष्ट्रिय जनसांस्कृतिक महासंघ, कास्कीले शुक्रबार विजयादशमी, शुभदीपावली, छठलगायतका चाडहरुको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा पूर्वस्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले कला र साहित्यले संसारलाई बदल्न सदैव अग्रपंक्तिमा काम गरेकोे बताए ।
उनले अगाडि भने, ‘आमा, युवाहरुको गीत, अग्निदीक्षालगायतका कृतिहरु जति पढे पनि पुरानो लाग्दैनन् ।’ प्रमुख अतिथि अधिकारीले कार्यक्रमको क्रममा नै युवा साहित्यकार नवराज ढकालको दोस्रो उपन्यास ‘पुरुष निषेध’को समेत लोकार्पण गरेका छन् । उपन्यासको समीक्षा गर्दै प्राध्यापक डाक्टर यदुनन्दन उपाध्यायले उपन्यास विषयवस्तुका हिसाबले उत्कृष्ट भए पनि धेरै विषयवस्तु एकैपटक उठाउँदा उपन्यास धारिलो बन्न नसकेको औँल्याए ।
त्यसै महिला अधिकारकर्मी सावित्री गौतमले यो पुस्तकले जैविक रुपका पुरुषलाई नभई पितृसत्तात्मक सोच राख्ने पुरुषहरुलाई निषेध गर्न खोजेको बताइन् । लेखक ढकालले हालसम्म पनि नेपाली समाजमा लैङ्गिक विभेद रहेको र पुरुषहरुले यो वा त्यो बहानामा महिलामाथि दमन गर्ने गरेकोले यसलाई उजागर गर्न यो उपन्यास तयार गरेको बताए ।
कार्यक्रममा नेकपा एमाले कास्कीका सचिव दामोदर बैरागी, महासंघका प्रदेश नं। ४ संयोजक मनकुमार श्रेष्ठ, जनसंगित मञ्च नेपालका उपाध्यक्ष पद्मराज ढकाल, जनसाहित्यिक मञ्च नेपालका उपाध्यक्ष नारायण परिश्रमी, प्राध्यापक डाक्टर रविलाल अधिकारी, पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली तथा अग्रज पत्रकार दीपेन्द्र श्रेष्ठ, महासंघ गण्डकीका निवर्तमान सचिव सुवास मल्ललगायतको समेत उपस्थिति थियो ।
कार्यक्रमको बीचमा भर्खर मात्र सम्पन्न राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको छैठौँ महाधिवेशनबाट निर्वाचित प्रदेश नं। ४ का संयोजक तारापति सुवेदी तथा केन्द्रीय सदस्य जीवन दाहाललाई महासंघ कास्कीले बधाइज्ञापन गर्दै सम्मानसमेत गरेको थियो । कार्यक्रम महासंघ कास्कीका अध्यक्ष कृष्ण भण्डारीको अध्यक्षता, सचिव लोकनाथ पुडासैनीको सञ्चालन तथा उपाध्यक्ष लक्ष्मी थापाको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया