निजी स्कूलका बसलाई पनि यात्रु बोकाइने

काठमाडौं १६ असोज । दसैँमा काठमाडौंबाट बाहिरिनका लागि झन्डै ६ देखि ७ लाख यात्रुले सवारी चढ्दा सीट नपाउने स्थिति बनेपछि सरकारले त्यसको विकल्प खोज्ने भएको छ ।

अहिले भएका सार्वजनिक सवारीले सहज रूपमा सबै यात्रु बोक्न नसक्ने देखिएपछि सरकारले निजी विद्यालयका सवारीलाई पनि चलाउने तयारी गरेको हो । यातायात व्यवस्था विभागले सार्वजनिक भाडाका सवारीले सबै यात्रुलाई राजधानीबाट घर लैजान नसक्ने निश्कर्ष निकाल्दै प्याबसन र एनप्याबसन अन्तर्गतका निजी विद्यालयका सवारीलाई पनि दसैँमा सञ्चालन गर्ने प्रस्ताव तयार गरेको हो ।

विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले झण्डै ६÷७ लाख यात्रुले दसैँमा घर जाने टिकट नपाएपछि यो प्रस्ताव अघि सारिएको बताए । यसविषयमा आइतबार निजी विद्यालय सञ्चालकसहित सर्वपक्षीय छलफल गरेर निर्णयमा पुगिने उनले बताए ।

विद्यालयका गाडीलाई यात्रु ओसार्न दिँदा झन्डै ३ देखि ४ लाख यात्रुले सहजै काठमाडौं छोड्न सक्ने देखिएको छ । निजी विद्यालय सञ्चालनहरूले झन्डै ५÷७ सय बसहरू राजधानी बाहिर पठाए टिकट नपाए दसैँमा घर जाने योजना स्थगित गरेकाहरूलाई सहज हुनेछ ।

यातायात व्यवसायीले दसैँमा अधिकतम् दैनिक ५ देखि ६ हजार गाडीले काठममाडौंबाट यात्रु ओसार्न सक्ने बताएका छन् । यसअनुसार ७ दिनसम्म यात्रु बोक्दा झन्डै १० लाख ८० हजारले मात्रै सीट पाउने दाबी उनीहरूको छ । त्यसैअनुसार टिकट बुकिङ गरिएको व्यवसायीको दाबी छ ।

दसैँमा झन्डै २० लाख भन्दा बढी यात्रुले काठमाडौं छाड्छन् । ३ लाख यात्रुले भने निजी सवारी नै प्रयोग गर्छन् । त्यसअनुरूप झन्डै ७ लाख यात्रुलाई घर जानका लागि टिकट नमिल्ने अनुमान छ । व्यवसायीले सीटबाहेक मुडा, क्याबिन लगायत ‘वान थर्ड प्लेस’मा राखेर यात्रु लगे पनि अधिकतम ३ लाख यात्रु लैजान सकिने बताएका छन् । तर, सरकारले पछिल्लो समयमा लामा दूरीका सवारीमा सीट क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीलाई कडाइ गरेको छ ।

व्यवसायीहरूले कडाइ हटाएर वा अन्य गाडी थपेर यात्रु ओसार्नुपर्ने बताएका छन् । सीधा रूपमा सीट क्षमताभन्दा बढी यात्रु राखेर लैजान अनुमति दिन नसकेपछि सरकारले निजी विद्यालयका बसहरू पनि सञ्चालन गर्ने विकल्प अघि सारेको हो ।

निजी विद्यालयका बसलाई सञ्चालन गर्दा घाटा नलाग्ने गरी भाडा लिन पाउने गरी दसैँभरि सञ्चालन अनुमति दिने योजना छ । दसैँका लागि अधिकांश विद्यालयहरूले शनिबारैदेखि बिदा दिएका छन् । त्यसैकारण दसैँभरि थन्किएर बस्ने बसलाई चलाएर यात्रुलाई राहत दिने योजना बनाइएको महानिर्देशक श्रेष्ठले बताए ।

प्रतिक्रिया