थ्री–स्टार र इस्ट बंगाल फाइनलमा

three-star-final-maगुवाहाटी, १४ असोज । भारतको गुवाहाटीमा जारी ६४औँ संस्करणको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको उपाधिका लागि नेपालको रुस्लान थ्री–स्टार क्लबले भारतको इस्ट बंगालसँग प्रतिस्पर्धा गर्ने भएको छ । बुधबार भएको सेमिफाइनलमा थ्री–स्टारले युनाइटेड सिक्किम र इस्ट बंगालले सिलोङ लाजोङ फुटबल क्लबलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् । गुवाहाटीको नेहरू स्टेडियममा भएको पहिलो सेमिफाइनलमा थ्री–स्टारले युनाइटेड सिक्किमलाई अतिरिक्त समयको खेलमा ४–१ गोल अन्तरले पराजित ग¥यो । निर्धारित ९० मिनेट १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

पहिलो हाफको खेलमा दुवै टोलीले गतिलो आक्रमण बुन्न सकेनन् । खेलको १७आँै मिनेटमा निराजन खड्काको उत्कृष्ट क्रसलाई सुनील वलले गोलको दिशा दिन असफल रहे । बिमल घर्तिमगरले ३९आँै मिनेटमा प्रहार गरेको कर्नरमा देवेन्द्र तामाङले गरेको हेड पोस्ट नजिकैबाट बाहिरियो । दोस्रो हाफमा भने थ्री–स्टारले खेलमा उत्कृष्ट पुनरागमन ग¥यो । असिमजंग कार्कीको स्थानमा विजय गुरुङलाई मैदान छिराउने प्रशिक्षक मेघराज केसीको रणनीति सफल देखियो । ६८आँै मिनेटमा अफ्रिकन खेलाडी मार्टिनले एक्लो प्रयासमा गोलकिपरलाई विट गर्दै थ्री–स्टारको खाता खोले । जित नजिक पुगेको थ्री–स्टारको डिफेन्स लाइनको गल्तीको फाइदा उठाउँदै खेल सकिन २ मिनेटअघि सिक्किमका सोनाम छिरिङले बराबरी गोल फर्काए । दोस्रो हाफमा धेरै अवसर सिर्जना गरे पनि थ्री–स्टारले थप गोल गर्न नसक्दा खेल अतिरिक्त समयमा धकेलियो ।

थपिएको अतिरिक्त समयको खेल थ्री–स्टारले पूर्णरूपमा आफ्नो पक्षमा राख्यो । खेल सुरु भएको पाँचाँै मिनेटमा मार्टिनले पुनः थ्री–स्टारलाई अग्रता दिलाए । त्यसको ६ मिनेटपछि सिक्किमका डिफेन्डरले क्लियर गर्न नसेकेको बलमा विजय धिमालले गोल गरे । अतिरिक्त समयको अन्तिम मिनेटमा सुनील वलको क्रसलाई उपयोग गर्दै विजय गुरुङले थ्री–स्टारका लागि चौथो गोल थपे । क्लब सेमिफाइनल पुगेकोमा खुसी व्यक्त गर्दै प्रशिक्षक मेघराज केसीले निर्धारित समयमा खेलाडीको गरेको प्रर्दशनमा भने असन्तुष्टि व्यक्त गरे । ‘प्रतिद्वन्द्वीको स्तर हेर्दा निर्धारित समयमै हामीले खेल जित्नुपर्ने थियो । खेलाडी बढी आत्मविश्वासी देखिँदा पहिलो हाफमा गतिलो प्रर्दशन गर्न सकेनौँ ।’ केसीले भने । सेमिफाइनल जित्न दबाब रहेको स्वीकार गर्दै उनले दोस्रो हाफमा पर्याप्त मौका सिर्जना गरे पनि गोल हुन नसकेको बताए ।

टोलीका कप्तान बिक्रम लामाले समग्रमा प्रदर्शन राम्रो भए पनि क्षमता अनुसारको प्रदर्शन गर्न नसकिएको स्वीकार गरे । ‘प्रतिद्वन्द्वीलाई कमजोर सोच्दा पहिलो हाफ राम्रो हुन सकेन । तर, गल्ती सुधार गर्दै दोस्रो हाफपछि खेलमा फर्कन सफल भयौ । त्यसैले अतिरिक्त समयमा फराकिलो अन्तरको जित निस्कियो ।’ उनले भने । थ्री–स्टारले उपाधिका लागि आगामी शुक्रबार भारतको इस्ट बंगाल फुटबल क्लबसँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा इस्ट बंगालले सिलोङ लाजोङ फुटबल क्लबलाई १–० ले हराएको थियो ।

प्रतिक्रिया